
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमाथि सोमबारबाट छलफल सुरु भएको छ । छलफलमा सत्तारुढ र विपक्षी दलका प्रदेशसभा सदस्यहरुले कोभिडले थलापरेका आर्थिक क्षेत्रको पुनरुत्थानका लागि बजेट विनियोजन नगरेको भन्दै आलोचना गरेका छन् ।
सत्तारुढ दल एमालेका प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले कोरोना केन्द्रित भनिए पनि फजुल खर्चमा बजेट बढी विनियोजन भएको टिप्पणी गर्नुभएको छ । ‘सवारी साधन खरिद तथा मेसिनरी औजारमा ८२ करोड ४० लाख ९६ हजार र गाडी खरिदमा मात्रै २९ करोड ७० लाख बजेट विनियोजन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिदमा १ करोड ४५ लाख ८० हजार र तालिम गोष्ठीमा मात्रै ३६ करोड ५६ लाख ४६ हजार बजेट विनियोजन गरिएको छ ।’
अनुगमन मूल्यांकनमा ११ करोड, विविधअन्तर्गत मनोरञ्जन, प्रदर्शन, चियापान, भोजमा ८ करोड ७९ लाख ६५ हजार र सांस्कृतिक पूजापाठ, यज्ञमा ३१ करोड ९२ लाख ३० हजार बजेट विनियोजन गरेर फजुल खर्च बढाएको भन्दै राईले टिप्पणी गर्नुभयो ।
‘विकास निर्माणमा कूल बजेट १० अर्ब मात्रै विनियोजन गरेर बाँकी बजेट यी यस्तै फजुल खर्चमा विनियोजन गरिनु उचित होइन,’ उहाँले भन्नुभयो, ‘मन्त्रीले नभई कर्मचारीले बजेट लेखेकोले यस्तो अवस्था सृजना भएको हो ।’
सत्तारुढ दलकै प्रदेशसभा सदस्य लक्षमण तिबारीले ठोस उपलब्धी हुने योजनाभन्दा साना र टुक्रे योजनामा बजेट छरेको टिप्पणी गर्नुभएको छ । ‘सरकारले कर्मचारी र पदाधिकारीको भत्ता काटेको छ तर पूजापाठ, भोजभतेर, मनोरञ्जनका लागी करोडौंको बजेट विनियोजन गरेको छ,’ उहाँले भन्नुभयो, ‘कानुनमा भएको व्यवस्था विपरित प्रदेशसभामा विदाका दिन पनि खटिने कर्मचारीको र प्रदेशसभाको समितिको बैठक भत्ता काटिनु उपयुक्त होइन ।’
चालु आर्थिक वर्षमा ३० करोडको औषधी खरिद गरेको सरकारले आउँदो आर्थिक वर्षका लागि ७ करोड बजेट विनियोजन गरेर स्वास्थ्य क्षेत्र केन्द्रित बजेट ल्याएको कसरी भन्न मिल्ने भन्दै तिबारीले प्रतिप्रश्न गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले आय स्रोतको सुनिश्चितता बिना बजेट निर्माण, कार्यान्वयनको आधारै तयार नगरी बजेट बिनियोजन, आवश्यकता र प्राथमिकतालाई ख्यालै नगरी दवावमा बजेट ल्याएकोले प्रतिफल प्राप्त नहुने टिप्पणी गर्नुभएको छ ।
विपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोल आर्थिक पुनरुत्थानका निम्ति एक रुपैयाँ पनि प्रदेश सरकारले विनियोजन नगरेको टिप्पणी गर्नुभएको छ । ‘कूल जिडिपीको १९ प्रतिशत हिस्सा राख्ने लुघु तथा साना उद्योग सञ्चालनका लागि बजेट विनियोज नहुनु दुखद हो,’ उहाँले भन्नुभयो, ‘४६ खर्बको जिडिपी रहेको अवस्थामा आर्थिक पुनरुत्थानमा बजेट विनियोजन नगरेको अवस्थामा ३ दशमलव ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हास्यास्पद भएकोले मन्त्री ज्यूलाई सच्याउन आग्रह छ ।’
स्वास्थ्य क्षेत्रमा असाध्यै न्यून बजेट विनियोज गरिनुका साथै कोभिड १९ रोकथाम र नियन्त्रणका लागि कुनै कार्यक्रम नै नभएको उहाँले टिप्पणी गनुृभयो । ‘एउटा गरिवलाई कोभिड लाग्यो भने कसले उपचार गरिदिने त्यसका लागि खै बजेट ?,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई होइन, भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।’
मध्यकालिन खर्च संरचना अनुसार भौतिक पूर्वाधारको कुनैपनि कार्यक्रम नभएको आङ्बोले टिप्पणी गर्नुभयो । शिक्षातर्फ आधारभूत तहहरुको स्तरोन्नतिका लागि सरकारको ध्यान गएको बजेट नदेखिएको भन्दै उहाँले टिप्पणी गर्नुभयो ।
प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले आउ“दो आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ ।