ताजा जनादेशको विकल्प छैन : मन्त्री पौडेल

बुटवल । उपप्रधान, गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ताजा जनादेशको विकल्प नरहेको बताउनुभएको छ । उहाँले निर्वाचन अगाडि सवै नेपालीलाई खोप उपलव्ध गराउने भन्दै जनता भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने समेत बताउनुभयो ।

एमाले उपमहासचिव समेत रहनुभएका पौडेलले राजनीतिक दलहरू जनादेश लिने विषयमा डराएको आरोप लगाउनुभयो । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले सबैलाई निर्वाचनको तयारी गर्न समेत उहाँले आग्रह गर्नुभयो । राजनीतिक स्थायित्व र विकासको एजेण्डामा गत निर्वाचनमा जनतासँग मत मागेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘तर देशमा अनपेक्षित परिणाम आयो ।’

गृहजिल्ला रुपन्देहीको बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको उद्घाटन गर्दै पौडेलले निर्वाचन मात्र अबको निकास भएको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको भन्दै उहाँले भन्नुभयो,‘लोकतन्त्रको प्राण निर्वाचन नै हो, त्यसैले ताजा जनादेशबाटै मुलुकले निकास पाउँछ ।’

२०६५ सालमा आफू जलस्रोत मन्त्री हुँदा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सोंच राख्दा कतिपयले विश्वास नगरी चुनावी प्रचार मात्रै भनेको स्मरण गर्दै मन्त्री पौडेलले भन्नुभयो,‘त्यहि सोंचको योजना अब अगाडि बढेको छ ।’

Back to top button