मन्त्री र सांसदबीचको आरोप प्रत्यारोपमा माओवादी केन्द्रद्वारा प्रदेशसभा बैठक अबरुद्ध

विराटनगर । प्रदेश १ का विपक्षी दल माओवादी केन्द्रले प्रदेशसभा बैठक सोमबार अबरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले अबरुद्ध गरेको हो ।

सभामुख प्रदिपकुमार भण्डारीले सदन सुचारु गर्नै लागेको बेला माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अबरुद्ध गरेका थिए । सदन अबरुद्ध गरेपछि सभामुख भण्डारीले माओवादी केन्द्रका एक जना प्रदेशसभा सदस्यलाई आफ्ना कुरा राख्न समय दिनुभएको थिया ।

माओवादी केन्द्रकातर्फबाट प्रदेशसभा सदस्य रामकुमार राईले भौतिक पूर्वाधार विकास मन्त्री गुरुङले सदनमा अमानवीय, अनैतिक, गैर जिम्मेबारी ढंगले प्रदेशसभा सदस्यहरुलाई गालीगलौज गर्दै सदनमा सम्बोधन गरेकोले आत्मालोचनासहित माफी माग्नु पर्ने र सदनको रेकर्डबाट उहाँको भनाई हटाउनु पर्ने माग गर्नुभएको छ ।

उहाँले बोलेपछि पुनः माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले उठेर सदन अबरुद्ध गरेका थिए । सभामुख भण्डारीले पटक पटक बस्न आग्रह गर्दा पनि नबसेपछि मंगलबार १२ः३० बजेसम्मका लागि बैठक स्थगित गर्नुभयो ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खडकाले विनियोजन विधेयकको भौतिक पूर्वाधार विषयको छलफलमा भाग लिदै मन्त्री गुरुङलाई कमिशन खानेलगायतको आरोप लगाउँदै आलोचना गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य खडकाले लगाएको आरोपको खण्डन गर्दै मन्त्री गुरुङले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले सदन अबरुद्ध गरेको हो ।

मन्त्री गुरुङले प्रदेशसभा सदस्य मोहनकुमार खड्काले सदनमा आफ्नो चरित्र हत्या गर्ने किसिमले निन्दनीय र दुःखदायी अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

‘बिना आधारकै केही कुरा नबुझिकन तपार्इंले कसरी व्यक्तिगत चरित्र हत्या हुने गरी यो सम्मानित सदनमा बोल्नु भयो ?’ उहाँले भन्नुभएको थियो, ‘मैले आफ्नो क्षेत्रमा रिंगरोडको अवधारणा ल्याएर छनोट गरेको बहुवर्षीय योजना ३ करोड बजेट विनियोजन हु“दा तपार्इंले ५३ करोड बजेट विनियोजनको कुरो कसरी उठाउनु भयो ?’

ओखलढुंगाको रुम्जाटारमा स्मार्टसिटीको अवधारणा ल्याउँदा तपाईले दुःखी हुनुपर्ने कुनै कुरा छ र भन्दै मन्त्री गुरुङले प्रश्न गर्नुभएको थियो । ‘यो सम्मानित सभालाई तपाईले बेबकुफ बनाउने किसिमले काम गर्नु अली उचित होइन की माननीय ज्यू । तपाईं अझै सुध्रिएर आउनुहोस् । तपार्इंको समस्या मेरो समस्या हो त्यसको समाधान गर्ने जिम्मेबारी मेरोमा पनि छ,’ उहाँले भन्नुभएको थियो, ‘माननीय ज्यू तपाईं होसियारी साथ बोल्नुहोस् । तपाईले तथानाम, रीसराग, डाहा राखेर सदनको रेकर्डमा रहने गरी बोल्नुभयो ।’

उहाँले प्रदेशसभा सदस्य खड्कालाई भिजन नभएको भनेका थिए । मन्त्री गुरुङले बोलिरहदा सभामुख भण्डारीले रुलिङ गर्दै ५ पटक भनाई छोट्याउन आग्रह गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य खडकाले भौतिक पूर्वाधार क्षेत्रका विनियोजन विधेयकको छलफलमा मन्त्री गुरुङले दलालमुखी, गुटकेन्द्रित र संघीयता विरोधी बजेट ल्याएको भन्दै आलोचना गर्नुभएको थियो । ‘मन्त्रीमार्फत अपचलन गर्न यो विधेयकमा बजेट राखिएको छ,’ उहाँले भन्नुभएको थियो, ‘पूँजिगत क्षेत्रको झण्डै ३५ करोड बजेट अबण्डामा राखिएको देखिन्छ जसमा आर्थिक चलखेलको उद्देश्य प्रष्ट हुन्छ ।’

कतिपय प्रदेशसभा सदस्यहरुको सञ्चालित बहुवर्षीय योजनामा भुक्तानीका लागि बजेटको अभाव भइरहेको अवस्थामा आउ“दो वर्षको बजेटमा मन्त्रीमुखी र गुटीय रक्षाका लागि थुप्रै टुक्रे योजनाहरु थपिएको खडकाले बोल्नुभएको थियो ।

‘प्रतिपक्षी, गुट बाहिरका प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमा योजनाहरु अन्धाधुन्ध काटिएका छन्,’ उहाँले भन्नुभएको थियो, ‘राख्नै पर्ने योजनाहरुमा समेत सञ्चालनै नहुने गरी शून्य बजेटको सिद्धान्तमा राखिएको छ ।’

मुख्यमन्त्री शेरधन राईको जिल्ला भोजपुरमा कुनैपनि शिर्षक र उपर्षिक बजेटमा नछुटेको खड्काको आरोप थियो । ‘ओखलढुंगास्थित मन्त्री ज्यूको निर्वाचन क्षेत्रमा ५३ करोड २१ लाख बजेट छ र त्यो पनि रुम्जाटार, दियाले र कुन्तादेवी तीन ठाउँमा केन्द्रित छ ।’ उहाँले भन्नुभएको थियो, ‘सोलुखुम्बु जिल्लाभरिका लागि २० करोड २१ लाख मात्रै बजेट विनियोजन गरिएको छ ।’

मुख्यमन्त्री राईले मन्त्री गुरुङको साथमा ओखलढुंगामा चौतारीको सिलान्यास र उद्घाटनमा जाँदा कमिशनको पैसाले पालिएका पत्रकारका भेषधारी चाटुकारहरुलाई उपस्थित गराएको भन्दै प्रदेशसभा सदस्य खड्काले सदनमा आपत्ति जनाउनुभएको थियो ।

Back to top button