ट्रेड युनियनका प्रतिनिधिसँग मोरङ व्यापारसंघको छलफल

विराटनगर । मोरङ व्यापार संघले सुनसरी –मोरङ औद्योगिक कोरीडोरका ट्रेड युनियनका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

मोरङ–सुनसरी कोरिडोरका विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिक- कामदारहरुको विद्यमान अवस्था, सरकारद्वारा निर्देशित सामाजिक सुरक्षा कोषको पछिल्लो संशोधित व्यवस्थालगायतका विषयमा छलफल भएको संघले जानकारी दिएको छ ।

संघका अध्यक्ष प्रकाश मुन्दडाले विद्यमान व्यवस्था, यसका फाइदा तथा आवश्यक सुधारका निम्ति भइरहेका खबरदारीलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

श्रमिक/कामदार र उद्योगी/व्यवसायीहरु एकै रथका दुई पाङग्रा रहेको भन्दै अध्यक्ष मुन्दडाले श्रमिक/कामदारहरुको हितका निम्ति सामाजिक सुरक्षा कोषका कार्यविधिहरुको संशोधन एवं क्रमिक सुधारकालागि संघलगायत निजी क्षेत्रका औद्योगिक-व्यवसायिक प्रतिष्ठानहरुले शुरु देखिनै जोडदार पहल गर्दै आएको बताउनुभयो ।

उहाँले ट्रेड युनियनका विचारहरुलाई उद्योगी-व्यवसायीहरुले सदैव सम्मान गर्दै आएको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको पछिल्लो आव्हान तथा सुविधा दिने म्याद निषेधाज्ञा कै अवधिमा समाप्त भएको भन्दै यो समय २०७८ श्रावण मसान्त सम्मकालागि थप गर्न समेत माग गर्नुभएको छ ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष श्री किशोर धमलाले श्रमिक तथा मजदुरका निम्ति सामाजिक सुरक्षाकोषको प्रभावकारी कार्यान्वयन, कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थाका लागि पहलकदमी लिन व्यापारसंघलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ, प्रदेश नं. १का अध्यक्ष टिका प्रसाई, नेपाल ट्रेड युनियन कांग्रेसका सुशिल कोईरालालगायत मजदुर नेताको सहभागिता थियो । भने संघका तर्फबाट अध्यक्ष मुन्दडासहित वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, उपाध्यक्ष श्री अनिल कुमार साहलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Back to top button