जनादेशले हैन सर्वोच्चको परमादेशले मात्र प्रधानमन्त्रीबाट बाहिरिएको नेकपा एमाले अध्यक्ष केपी ओलीको भनाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा रहेपनि सर्वोच्चको परमादेशका कारण आफु बाहिरिएको बताउनुभएको छ ।

उहाँले देशबासीका नाममा सम्बोधन गर्दै आफू जनताको अभिमतमा प्रधानमन्त्री नियुक्त भएको र अहिले सर्वोच्चको परमादेशमा पदमुक्त भएको ओलीले टिप्पणी गर्नुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो ‘जनताको जनादेश मेरो पक्षमा छ, परमादेश शेरबहादुरजीको पक्षमा गयो, सर्वोच्चको परमादेशको कारण म बाहिरिन पुगेँ ।’

उहाँले सर्वोच्च अदालतले गरेको फैसलाप्रति आलोचना गर्नुभएको छ । प्रधानमन्त्रीका रूपमा बालुवाटारबाट अन्तिम सम्बोधन गर्दै उहाँले सर्वोच्चको फैसला त्रुटीपूर्ण भए पनि पालनामा आफू स्पष्ट रहेको बताउनुभयो । फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको भन्दै उहाँले यो फैसलाको समयले अग्‍निपरीक्षा लिने बताउनुभयो ।

सर्वोच्चको फैसलाले नेपालमा दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई नै चुनौती दिने काम गरेको उहाँले आरोप लगाउनुभयो । एउटै दलका सांसद सत्ता र प्रतिपक्ष बन्ने कल्पना संसारमा कुनै पनि लोकतान्त्रिक प्रणालीले नगर्ने भन्दै उहाँले संविधानको यस्तो अपव्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गर्ने काम गरेको उहाँको भनाई छ ।

राष्ट्रका विभिन्न अंगबिचकाको सन्तुलन समेत यो फैसलाले खल्बल्याएको उहाँले बताउनुभयो । निवर्तमान प्रधानमन्त्री ओलीले प्रत्येक राजनीतिक मुद्दामा हात हालेर अत्यधिक न्यायिक सक्रियता देखाउने काम भएको समेत टिप्पणी गर्नुभयो ।

रेफ्री स्वयम् गोल गर्ने र खास पक्षलाई जिताउने इच्छा भयो भने जोखिम हुने तर्क गर्दै उहाँले अहिले त अदालतबाट आउने सम्भावित फैसला एक हप्ताअघि नै खास व्यक्ति र समूहलाई आइसक्ने अवस्था देखिएको भन्दै तिब्र आलोचना गर्नुभयो ।

यस्तै निवर्तमान प्रधानमन्त्री केपी ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप आपूर्तिको प्रबन्ध गरिसकिएको जानकारी दिनुभएको छ । देशबासीको नाममा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताउनुभयो ।

तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्‍यौं भन्न थाल्ने भन्दै उहाँले आफु प्रचारमा होइन काममा विश्वास गर्ने रहेको समेत बताउनुभयो । ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको उहाँले बताउनुभयो । अमेरिकाबाट उपहारस्वरूप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले जानकारी दिनुभयो ।

आफ्नो कार्यकालमा अत्यधिक काम भएको भन्दै उहाँले आफूलाई आफ्नो कार्यकालप्रति कुनै गुनासो नरहेको बताउनुभएको छ । उहाँले देशलाई अल्पविकशित राष्ट्रबाट बिकासशिल राष्ट्रमा स्तरोन्नती गरेको समेत बताउनुभयो ।

उहाँले विकास र समृद्धीका लागि नयाँ आयाम शुरु गरिएको, देशलाई सुरुङ्ग युगमा प्रवेश गराइएको, विद्युत उत्पादन र विस्तार, भौतिक पूर्वाधारका विकासलगातयका सवै क्षेत्रमा उल्लेखनीय काम भएको स्मरण गराउँदै बाँकी रहेको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन फेरी पनि नयाँ जनादेश लिएर आउने विश्वास समेत ब्यक्त गर्नुभयो ।

‘अहिलेलाई केहिबेर बादलले सुर्यलाई छेकेजस्तो भएको छ, तर लामो समय छेकिदैन’ उहाँले पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, ‘संयमित भएर लोकतन्त्रको रक्षाका निम्ति उभिनुहोस् ।’

Back to top button