उद्योग संगठनको नयाँ उद्यमी बनाउने कार्यक्रम सुरु

विराटनगर । के तपाईं नयाँ व्यवसाय सञ्चालन गर्न सोच्दै हुनुहुन्छ ? यदी हो भने तत्काल उद्योग संगठन मोरङले सुरु गरेको स्टार्ट अप एण्ड इनोभेसन कार्यक्रममा आवेदन दिएर फाइदा उठाउनु होस् । उद्योग संगठनले नयाँ उद्यमी बनाउन पूँजीदेखि आवश्यक सम्पूर्ण सहयोग गर्न कार्यक्रम ल्याएको हो ।

उद्योग सङ्गठन मोरङले नयाँ व्यवसायी बनाउनका लागि स्टार्ट अप एण्ड इनोभेसन कार्यक्रम बिहीबारबाट सुरु गरेको छ । नयाँ सोच, केही गर्ने इच्छाशक्ती भएका कर्मशील युवाहरुको व्यवसायिक सोचलाई उद्यामशीलतामा रुपान्तरण गर्न यो कार्यक्रम सुरु गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताउनुभएको छ ।

नविन व्यवसायिक अवधारणा भएका र दुई वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीको स्तरोन्नतिका लागि स्टार्ट अप एण्ड इनोभेसन कार्यक्रम ल्याएको उहाँले बताउनु भएको हो । १८ महिने स्टार्ट अप एण्ड इनोभेसन कार्यक्रममा सहभागि हुनेलाई उद्योग संगठनले व्यवसायिक योजना तर्जुमा, वित्तीय व्यवस्थापन, व्यवसाय दत्र्ता, कानुनी परामर्श, प्रशासनिक परामर्श, बजार व्यवस्थापन, ब्राण्डिङ, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संसाधन तथा जिन्सी व्यवस्थापनलगायतका समग्र विषयमा पूर्ण ज्ञान दिएर सफल व्यवसायी बनाउने लक्ष्य लिएको हो ।

व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने समग्र प्राविधिक ज्ञान प्रादन गर्नका लागि मेन्टरसीप, कोचिङ तथा परामर्श सेवा, उद्योगी व्यवसायी, लगानीकत्र्ता र वितरकहरुसँग नेटवर्क स्थापित गर्ने, लगानीका लागि लगानीकत्र्ताका साथै बैंकहरुसँग सहज पहुँच स्थापित गराउने कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

स्टार्ट अप एण्ड इनोभेसन कार्यक्रममा सहभागिताका लागि नविन व्यवसायिक अवधारणा भएका युवाहरुलाई साउन ३२ गतेभित्र आवेदन गर्न बिहीबार पत्रकार सम्मेलन गरेर अध्यक्ष प्याकुरेलले आह्वान गर्नुभएको छ । यस कार्यक्रममा सहभागिताका लागि उद्योग संगठनको वेभ साइट डब्ल्युडब्ल्युडब्ल्यु डट सीआईएम डट ओआरजी डट एनपीमा अनलाइन आवेदन गर्ने व्यवस्था गरिएको छ ।

‘प्रदेश १ भरिका युवाहरुका लागि सञ्चालित स्टार्ट अप एण्ड इनोभेसन कार्यक्रममा ५ सय युवाको आवेदन पर्ने अनुमान छ,’ उहाँले भन्नुभयो, ‘आएका आवेदनमध्ये एक सय जनालाई सूचीकृत गरी पहिलो चरणमा २० जनालाई कार्यक्रममा सहभागि गराउने लक्ष्य छ ।’

स्थानीय कच्चा पदार्थमा आधारित र कृषि तथा कृषिजन्य उत्पादन, प्रशोधनलगायतको औद्योगिक तथा व्यवसायिक अवधारणालाई कार्यक्रममा छनोटका लागि प्राथामिता दिइने नीति रहेको उहाँले बताउनुभयो ।

उद्योग संगठनका कार्यकारी सदस्य तथा उद्योगी सुरेन्द्र गोल्छाको संयोजकत्वमा गठित समितिले स्टार्ट अप एण्ड इनोभेसन कार्यक्रम ल्याउनुभएको हो । यस कार्यक्रममा प्राविधिक सहयोगका लागि मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगर र नबिल बैंक साझेदार संस्थाको रुपमा रहेको गोल्छाले बताउनुभयो ।

नबिल बैंकका प्रदेश १ का प्रमुख सुबोध लोहनीले स्टार्ट अप व्यवसायका नयाँ उद्यमीहरुलाई १५ लाख, २५ लाख र १ करोड सहुलियत कर्जा प्रदान गर्न नबिल बैंकले अहिले दिगो बैंकिङ कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाँले बैंकले दिने स्टार्ट अप कृषिमा आधारित व्यवसायका लागि बिना धितो ८ प्रतिशत ब्याजमा १५ र २५ लाखको सहुलियत ऋणमा सरकारले ५ प्रतिशत ब्याज ब्यहोर्ने व्यवस्था रहेकाले नयाँ उद्यमीहरुलाई निकै फाइदा पुग्ने बताउनुभयो । १ करोड ऋणका लागि धितो राख्नु पर्ने उहाँले बताउनुभयो । बैंकले दिगो कार्यक्रमअन्तर्गत दिने कर्जा ५ वर्षभित्र तिर्नुपर्ने व्यवस्था गरेको लोहनीले बताउनुभयो ।

Back to top button