जनकपुर–जयनगर रेल्वेको आज लिक परीक्षण गरिदै

जनकपुर । भारतको सहयोगमा निर्माण गरिएको जयनगर–जनकपुर–कुर्था रेल्वे लिकको आज गति परीक्षण गरिदै छ । भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ प्रविधिद्वारा रेल्वे लिकमा १२० किलोमिटर प्रतिघण्टाको गतिमा रेल चलाएर आज लिकको गति परीक्षण गर्न लागेको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले लिकको गति परीक्षणका लागि लिक वरिपरिका वस्तीबासीलगायतका सर्वसाधारणलाई लिक खाली गर्न माइकिङका साथै सार्वजनिक सूचना गरेको बताउनुभयो ।

उनले लिक परीक्षणको क्रममा स्थानीयवासीको कारण कुनै किसिमको दुर्घटना भए कानूनी कारबाही गरिने उहाँले चेताबनी दिनुभएको छ ।

भारत सरकारको सहयोगमा जयनगरदेखि वर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज रेल्वे लिक निर्माण गर्ने सम्झौता अनुसार पहिलो चरणमा निर्माण गरिएको जयनगर–जनकपुर–कुर्थासम्मको ३४ किलोमिटर लिकमा सरकारले रेल्वे सेवा सञ्चालन गर्न लागेको हो ।

रेल्वे सेवा सञ्चालनका लागि ८४ करोड ६५ लाखको लागतमा भारतसँग दुई वटा रेल खरिद गरेर गतवर्ष असोज २ गते नै सरकारले ल्याए पनि कर्मचारी व्यवस्थापन, कानुन निर्माणका साथै भारतसँग सम्झौतामा भएको ढिलाइलगायतका कारण रेल्वे सेवा सञ्चालन हुन सकेको छैन ।

Back to top button