दाहालद्वारा देउवालाई विश्वासको मत दिन सबैलाई आग्रह

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दुई पटक संसद विघटन गर्नेले गोहीको आँशु चुहाएर अब कसैले नपत्याउने बताउनुभयो । उहाँले लोकतन्त्र, मुलुकको आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षाका लागि शेरबहादुर देउवालाई विश्वासको मत दिन सबैलाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने प्रक्रियाका लागि जारी छलफलमा भाग लिँदै दाहालले दलभित्रको आन्तरिक झगडाका कारण संसद विघटन गर्न नपाइने बताउनुभयो ।

सदनमा ओलीको अनुपस्थिति बारे दाहालले टिप्पणी गर्नुभयो । ‘यो सदनले पनि केपी जीको मुखबाटै कुरा सुन्न चाहेको थियो,’ उहाँले भन्नुभयो, ‘देशले पनि निवर्तमान प्रधानमन्त्रीले के भन्नुहोला भन्ने कुरा सुन्न चाहेको थियो । यो मलाई स्वभाविक लागेको छैन् । यो अस्वभाविक र अलोकतान्त्रिक पनि हो ।’

ओलीको दम्भ र अहंकारको जाँतोमा आफूहरू पिसिएकोले अब उहाँको कुरा कसैले नपत्याउने दाहालले बताउनु भयो ।

Back to top button