खराबमध्ये कम खराब चुन्ने काम भएको जनताले भन्दै छ त्यसैले असल काम गरौं : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले जनताले केपी शर्मा ओली भन्दा कम खराबको सूचीमा हामीलाई पनि राखेकाले असल काम गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा मागेको विश्वासको मतको छलफलमा भाग लिदै भट्टराईले संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न आग्रह गर्नु भएको हो ।

महिलाको नाममा नागरिकता दिने गरी नागरिकता सम्बन्धि ऐन ल्याउनु मधेसका लागि मात्रै नभई पहाडका लागि पनि आवश्यक भएको बताउनु भयो । बेपत्ता छानबिन आयोग, मधेस आन्दोलन लगायतको आन्दोलनहरुको मुद्दा फिर्ता गर्नुपर्ने उहाँले बताउनुभयो । टिकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने भट्टराईले बताउनुभयो ।

‘कोरोना महामारीको कहरलाई दलको मुद्दा नबनाई मानव जातिको मुद्दा भएकोले आम नेपाली नागरिकलाई निःशुल्क खोप लगाउने काम गरौं,’ उहाँले भन्नुभयो, ‘हामीले भीख मागेर होइन, शीर ठाडो पारेर खोप ल्याएर लगाउनु पर्छ ।’

सबैलाई लागु हुने आर्थिक प्याकेज ल्याउनु आवश्यक रहेकोले अर्थतन्त्र र अर्थतन्त्र उकास्ने काम तत्काल गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । भ्रष्टाचारको ठूलो रोग छ । त्यसमा आफूपनि स्विकार गर्न तयार रहेकोले यसको निम्ति सबै मिलेर रोक्न उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्रीको इच्छा शक्ती भए भ्रष्टाचार रोक्न सकिने भट्टराईको भनाई थियो ।

नेपाल वायु सेवा निगम, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले चाँडै पहल लिनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

Back to top button