एमाले नेता खनालको उपचार खर्च वापत ३० लाख निकासा

काठमाडौं । भारतको एपोलो अस्पतालमा उपचाररत नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालका लागि ३० लाख रुपैयाँ निकासा गरिएको छ । तर कुनैपनि व्यक्तिलाई विदेशमा उपचार गरेको खर्च नेपाल सरकारले उपलब्ध गराउन नमिल्ने जनस्वास्थ्य ऐनको दफा ३० मा व्यवस्था छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गैर कानुनी निर्णय उल्टाइरहेको बेला खनाललाई उपचार खर्च दिने निर्णयलाई समर्थन गर्नुभएको छ । लामो समयदेखि विरामी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीतालाई भेट्न गएको बेला प्रधानमन्त्री देउवाले खनालसँग फोनमा कुराकानी गर्दै सरकारले सहयोग गर्ने आवश्वासन दिनुभएको थियो ।

तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेर ३० लाख रुपैयाँसमेत निकासा गरिसकेको छ । सरकारले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

Back to top button