
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले बनाएको घर छाडेर कसैलाई हिड्न मन नलाग्ने तर अपमान मात्रै सहेर पनि बस्न नसक्ने बताउनुभएको छ ।
एमालेभित्रको विवाद बढ्दै जाँदा विपक्षी गठबन्धन बनाएर एमालेकै सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन सहयोगी भूमिका खेल्नुभएका नेता नेपालले शुद्धीकरण गरेर पार्टीलाई नयाँ ढंगबाट अघि लैजाने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनुभयो ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले सबै कुरोको केन्द्रबिन्दु जनता नै हुन् भन्दै त्यसमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्नुपर्ने तर त्यसका लागि आँट र शाहस चाहिने भन्दै उहाँले पार्टी भित्र घाउ खटिरा रहेको र तिनलाई औषधिले निको पार्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेतृत्व सुध्रिने चाहन्छ भने ठिक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर कोही बस्दैन। नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ। असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने।’
गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने भन्दै उहाँले कम्युनिष्ट दास हुन नसक्ने बताउनुभयो । कम्युनिष्ट पार्टीमा नेता नभई नीति प्रधान हुने बताउँदै नेता नेपालले भन्नुभयो ‘अहिले जुन बाँदर जुलुस लगायतका गतिविधि भैरहेको छ, त्यसले अराजकता मात्र प्रस्तुत गर्ने हो ।’