![](https://sunauloonline.com/wp-content/uploads/2021/06/madhav-kumar-nepal.jpg)
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसला र लोकतात्रिक मूल्य मान्यता अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको स्पष्टीकरण दिनुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै नेता नेपालले २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिँड्दा समस्या आएको उहाँले स्पष्टिकरणमा उल्लेख गर्नुभएको छ ।
७ जेठमा फेरि प्रतिनिधिसभा विघटन गर्नु ५ पुसकै निरन्तरता भएको निष्कर्षसहित आफूहरु संसद पुनर्स्थापना र वैकल्पिक सरकार निर्माणमा लागेको नेता नेपालले बताउनुभएको छ ।
पार्टी अध्यक्षलाई दिएको जवाफमा उहाँले भन्नुभएको छ, ‘हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल रहेको छ ।’
पार्टी अध्यक्ष ओलीले नै विधानको गम्भीर उल्लंघन गरेकाले आफू विपक्षमा उभिएको भन्दै नेता नेपालले अध्यक्षले गरेका गैर संवैधानिक, विधान विपरीत, सम्मानित सर्वोच्च अदालतको आदेशको वर्खिलाप र अलोकतान्त्रिक कार्यको प्रतिवाद स्वरुप गरिएको एक लोकतान्त्रिक अभ्यास रहेको जिकिर गर्नुभएको छ ।
उहाँले यी घटनाक्रमलाई वैचारिक र राजनीतिक अन्तरविरोधका रुपमा बुझ्दै सोही अनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकतावद्ध बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।