
काठमाडौं । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी एकताका लागि आममाफी दिएर भएपनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई बैठकले जिम्मेवारी दिएको छ ।
विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो, ‘नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ ।’
अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।