
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ ।
आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ ।
जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच बढेको दुरीका कारण दुवै समूह पार्टी विभाजनको निर्णय पुगेका छन् ।
सोहि बेला जसपा आधिकारिक कस्को हुने भन्ने विवाद बढ्दैगएपछि यादवले आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिनुभएको थियो । त्यसको निकास छलफलबाट ननिस्केपछि आयोगले कानुनी रुपमा आधिकारिकता विवाद समाधान गर्न लागेको हो ।
जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । जसमा उपेन्द्र यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दावी गरेको छ ।