जसपा विवाद : ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गर्नु गलत रहेको यादव पक्षको ठहर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल भित्रको आधिकारीकताको विवादलाई निर्वाचन आयोगले निरुपण गर्न लागिरहँदा एक अर्काे पक्षले दावी गर्ने क्रम चलिरहेको छ ।

यहि क्रममा आज जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गर्नु नै गलत भएको ठहर गरेको छ ।

आजको बैठकले निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने निष्कर्ष निकालेको हो ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै कार्यकारिणी सदस्य रामसहाय यादवले आयोगले इजलास गठन गरेपछि अदालत सरह नै मानिने भन्दै विवाद निरुपण गर्ने प्रकृयामा रहेकै बेला रिट दायर गर्न नमिल्ने बैठकको निष्कर्ष रहेको बताउनुभयो ।

यस्तै बैठकमा संसदीय दलको बैठकले पारित गरेको दलको विधानका बिषयमा समेत छलफल गरि कार्यकारिणी सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

विधान अगामी बैठकमा पुनः छलफल गरी पारित गरिने उहाँले जानकारी दिनुभयो । विधान पारित भएपछि पुनः संसदीय दलमा पठाउने र संसदीय दलको नेता चयन गरिने यादवले बताउनुभयो ।

Back to top button