यो प्राविधिक विभाजन हो, ५१ जना मात्रै दल होइन : राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पार्टीमा आफूहरु अल्पमतमा परे पनि विचलित नहुने बताउनुभएको छ । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता महतोले यो प्राविधिक विभाजनले कुनै असर नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दल कतै गएको छैन, ५१ जना मात्रै दल होइन। अहिलेको मत विभाजन प्राविधिक कुरा मात्र हो।’ उहाँले पार्टी विभाजनको अवस्था आएकोप्रति रौष ब्यक्त गर्दै भन्नुभयो,‘ एक वर्षअघि उपेन्द्र यादवको पार्टी विभाजन हुँदा हामीले बचाइदिएको यसको लागि थिएन।’

वरिष्ठ नेता महतोले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद् भएको बताउनुभयो । उहाँले शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेको स्मरण गराउनुभयो ।

आफूहरुको पक्षमा रहेका कतिपय सदस्यहरु यादव पक्षमा लागेको बिषयमा नेता महतोले भन्नुभयो,‘कतिपयलाई अहिले पद रक्षा गर्नुपर्ने मजबुरी होला । तर जुन मजबुरीका कारण यताउता गरेको छ, त्यो आज हो, भोलि रहदैन ।

उहाँले केपी ओली र शेरबहादुर देउवा दुवै आफूहरुका लागि प्रतिगमनकारी भएको टिप्पणी गर्नुभयो । ‘ओली र देउवा सब बराबर हो हाम्रो लागि । हाम्रो लागि त सबै प्रतिगमनकारी हो।’ महतोले भन्नुभयो,‘संविधान बनाउँदा सबै मिलेर हामीविरुद्ध प्रतिगमन गरेकै हो नि।’

उहाँले देशको शासन र संविधान सम्पूर्ण नेपालीका लागि बन्नुपर्छ भन्दै शोषण उत्पीडनबाट मुक्ति दिलाउने आफूहरुको अभियान जारी रहने बताउनुभयो ।

Back to top button