सरकारलाई तत्काल पूर्णता दिन गठबन्धन दलबिच सहमति

काठमाडौं । सरकारलाई तत्काल पूर्णता दिने विषयमा सत्तारुढ दलबिच सहमति जुटेको छ । गठबन्धनका शीर्ष नेताबीच आज भएको छलफलले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा सरकारलाई तत्कालै पूर्णता दिने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।

उहाँले मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको तर शक्ति बाँडफाँडको विषय टुंगो लागिनसकेको बताउनुभयो । उहाँका अनुशार मन्त्रालय बाँडफाँड को बिषय मिलेसँगै एक–दुई दिनभित्र मन्त्रिपरिषदलाई पूर्णता दिइने दलहरूबीच सहमति भएको छ।

बैठकमा गठबन्धनका तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको र त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने पौडेलले बताउनुभयो ।

यस्तै, प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरूबीच सामान्य छलफल भएको छ। यसलाई अन्तिम रूप दिन आजै बेलुकासम्म फेरि शीर्ष नेताहरूको बैठक बस्ने तयारी छ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेललगायतको सहभागिता थियो ।

Back to top button