दोस्रो तह एकताको पक्षमा, ओली र नेपाल वाकयुद्धमा

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु सिंगो र सग्लो एमाले बनाउने अभियानमा निरन्तर जुटिरहेका छन् । दुवै टीमबाट बनेको कार्यदल विघटन भएपनि निरन्तर छलफल र वार्तामा बसेका दोस्रो तहका नेताहरु दुई नेतालाई एकठाउँमा उभ्याउन प्रयासरत छन् ।

अर्को तर्फ शिर्षस्थ नेताहरु भने एक अर्कालाई स्वीकार्नै नसक्ने अभिव्यक्ति सहित वाकयुद्धमा सक्रिय छन् । शनिबार मात्र देखिएको राजनितिक दृष्यले एकताबद्ध एमाले चाहने कार्यकर्तालाई भने शिर्ष नेताहरुको ब्यवहारले चिन्तित बनाएको छ ।

शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक बोलाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले अखिल फोर्सको कार्यक्रमको आयोजना गराउनुभयो ।

बिहान मात्र पार्टी एकताको लागि भन्दै बसेका दोस्रो पुस्ताका नेताहरु दुवै नेताका यस्ता गतिविधि नहोस भन्ने चाहन्छन् । यहि चाहनालाई अध्यक्ष ओलीले स्थायी समितिको बैठकको प्रारम्भमा नै प्रगति विवरण सुनेर भोलीसम्मका लागि बैठक त स्थगित गर्नुभयो ।

तर आजै माधवकुमार नेपालले अखिल फोर्सको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई अध्यक्ष नै मान्न नसक्ने प्रतिकृया दिनुभयो । एमालेकै नेतृत्वको सरकार प्रतिगमनकारी भएको भन्दै विपक्षी गठबन्धनमा लाग्नुभएका नेता नेपालले आफू विचारमा अडिग योद्धा भन्दै मैदान छोडेर नभाग्ने अभिव्यक्ति दिँदा कार्यकर्तालाई भने नेता नेपालले गठबन्धन छाड्नुहोला भन्नेमा आशंका गर्न थालेका छन् । अझ उहाँले अध्यक्ष ओलीलाई फेरी पनि प्रधानमन्त्री बन्छु भन्ने सपना नदेख्न चेतावनी समेत दिनुभयो ।

अर्को तर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दक्षिणपन्थीको मतियार बनेको आरोप लगाउँदै त्यस्तालाई पार्टीमा कुनै ठाउँ नरहेको चेतावनी दिनुभएको छ । एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिनेलाई पार्टीमा ठाउँ नहुने बताउनुभएको हो ।

यसरी शिर्षस्थ नेताहरुबिच भइरहेको वाकयुद्धले दुवै नेता रहेको सग्लो एमाले बन्छ भन्नेमा आशंका बढ्दै गएको छ । दुवै नेता पक्षका केहि नेताहरु भने सधैंको किचलो हुनुभन्दा आ–आफ्नो बाटो लागेको बेस हुने निश्कर्षमा पुगेको देखिन्छ ।

त्यसो त गठबन्धनका नेताहरुले माधव नेपाल समूहलाई समेत सरकारमा सहभागि गराउने गरिरहेको प्रयत्न र एमालेभित्र चलिरहेको वाकयुद्धले अन्तत: दुई किनार हुने सम्भावना बढेको राजिनितिक विश्लेषकहरुको भनाई छ ।

Back to top button