माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । नेताहरुको कार्यव्यस्तताको कारण दर्शाउँदै बैठक स्थगित गरिएको हो ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालले अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो । आजको बैठकबाट सरकारमा जाने मन्त्रीहरु टुंगो लगाउने माओवादीको तयारी थियो ।

गत असार २८ गते सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बन्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै मन्त्रिमण्डललाई पूर्णता दिन सक्नुभएको छैन ।

देउवाले असार २९ गते कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाउनुभएको थियो भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाउनुभएको थियो । यस्तै साउन १० गते कांग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुभएको छ ।

थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र कांग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ हुँदै आएको छ । तर माधवकुमार नेपालले तत्काल सरकारमा नजाने संकेत गरेसँगै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड चाँडै सरकारलाई पूर्णता दिने तयारीमा हुनुहुन्छ ।

यद्यपी माओवादी भित्रैबाट मन्त्री बन्न चाहनेको संख्या उच्च बनेपछि अध्यक्ष प्रचण्ड दवावमा पर्नुभएको छ । अझ नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्व सभामुख कृष्णवहादुर महरा दुवैले दावी गरेपछि सरकारमा पठाउनेको नाम छान्न अध्यक्ष प्रचण्डलाई सकस परेको पार्टी स्रोतको भनाई छ ।

Back to top button