नेकपा एमालेले बाड्यो ९ वटा विभागको जिम्मेवारी, स्कुल विभागको जिम्मेवारी पार्टी अध्यक्षलाई

काठमाडौं । आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न ९ वटा केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय भएको जानकारी दिनुभयो ।

पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठनिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो । माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको समेत ज्ञवालीले बताउनुभयो । विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

यसअघि एमालेले विभिन्न विभागहरुमा प्रमुख र उपप्रमुख चयन गरिसकेको छ । ती विभागमा केही सदस्य मनोनित भएका छन् भने माधव पक्ष फर्केर आउँदा समेट्ने गरि केही सदस्य खाली राखिएको छ ।

कुन विभागको जिम्मेवारी कस्लाई ?

आज बसेको स्थायी कमिटी बैठकले २५ सदस्यीय ९ वटा विभाग गठन गरेको हो । बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभाग, विष्णु पौडेललाई संगठन विभाग, सुवासचन्द्र नेम्वाङलाई संसदीय विभाग, विष्णु रिमाललाई आर्थिक विभाग, प्रदीप ज्ञवालीलाई प्रचार विभागको जिम्मेवारी दिएको छ ।

यस्तै, भानुभक्त ढकालले पर्यटन विभाग, डा. राजन भट्टराईले विदेश विभाग, अग्नि खरेलले निर्वाचन विभाग र देवेन्द्र दाहालले स्थानीय तह विभागको जिम्मेवारी पाउनुभएको छ ।

Back to top button