ओभरटेक गर्न खोज्दा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज । सप्तरीको खडक नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा ओभरटेक गर्न खोज्दा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । सप्तरीको शम्भुनाथ नगरपालिका ७ का २८ वर्षीय बुद्धसागर चौधरी र सिरहाको लहान नगरपालिका १७ का २८ वर्षीय रामशंकर यादवको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको ह्यान्डिल बसमा ठोकिएर अनियन्त्रित भएको थियो । अनियन्त्रित भएकै अवस्थामा विपरित दिशाबाट तिब्र गतिमा आएको प्र२–०१–००१प ९५५६ नम्बरको मोटरसाइकलले ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी सप्तरीले जनाएको छ ।

स११प ४०३८ नम्बरको मोटरसाइकलका चालक चौधरीको घटनास्थलमा नै र अर्को मोटरसाइकल चालक यादवको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स११प ४०३८ नम्बरको मोटरसाइकलमा पछाडि सवार सप्तरीको शम्भुनाथ नगरपालिका ७ का २८ वर्षीय आन्नद चौधरी र अर्को मोटरसाइकलको पछाडि सवार लहान नगरपालिका २० का २३ वर्षीय सोनम चौधरी घाइते छन् । दुबै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button