तुईन घटनाप्रति औपचारीक विरोध गर्न एमालेका सांसद ठगुन्नाको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्नुभएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ठगुन्नाले तत्काल संसदीय समिति गठन गर्न माग गर्नुभएको हो । उहाँले जयसिंह धामी वेपत्ता सम्बन्धी घटनालाई सरकारले संवेदनशील रुपमा नलिएको आरोप समेत लगाउनुभयो ।

ठगुन्नाले भन्नुभयो, ‘सीमामा एउटा नेपालीको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रूपमा विरोध गर्ने र दोषीलाई कारबाही गर्नुको सट्टा समिति बनाएर घटनालाई साम्य पार्न खोज्दैछ ।’

दोषी भारतीय सुरक्षाकर्मीलाई मानव हत्याको अभियोगमा कारबाही गर्न र जयसिंहका परिवारलाई क्षतिपूर्ति दिन उहाँले सरकारसँग माग गर्नुभयो । सो घटनाको आफू र आफ्नो पार्टी एमालेले घोर भत्सर्ना गरेको सांसद ठगुन्नाले बताउनुभयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले माथिल्लो एकातर्फको बाटो बनाइसकेको भन्दै उहाँले नेपाली नागरिकले तुइन तर्न नपर्ने अवस्था बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Back to top button