मुस्ताङमा कोरोनाको पुर्ण खोप

काठमाडौं । मुस्ताङ मा १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । १८ बर्ष माथिका सबै नागरिकलाई खोप लगाएपछि मुस्ताङ पुर्ण खोप लगाउने दोस्रो जिल्ला बनेको छ ।

गत माघ १४ गतेबाट खोप अभियान शुरु गरिएको मुस्ताङका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले बताउनुभयो । उहाका अनुसार मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २१३ नागरिकलाई पनि खोप दिइएको थियो। योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५१३ रहेको छ ।

खोप लगाउने १८ बर्ष माथिका ६ हजार ७२१ जनाले जोनसन एण्ड जोनसन खोप, ३२० जनाले भेरोसेल खोप र २ हजार ४७२ जनाले कोभिशिल्ड खोपको पूर्ण डोज लगाएको समेत स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए । जसमध्ये १५ जनाको मृत्यु भएको थियो । अहिले २३ जना सक्रिय संक्रमित छन् ।

मुस्ताङ अघि मनाङ जिल्लाका १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई पुर्ण खोप लगाई सकिएको छ ।

Back to top button