सरकारले सुनिश्चित गरेको बजेट अस्पतालहरुले खर्च गर्न सकेनन्

विराटनगर । कोरोनाको दोस्रो लहरमा अक्सिजन, आईसियू र भेण्टिलेटर अभावमा धेरै संक्रमितहरुले ज्यान गुमाउन थालेपछि त्यसको व्यवस्थापनका लागि संघीय सरकारले गत आर्थिक वर्षको जेठ पहिलो साता सुनिश्चित गरेर पठाएको बजेट अझै कार्यान्वयन गर्न सकेको छैन ।

प्रदेश १ का १० वटा अस्पतालका लागि ५० करोड २६ लाख ९१ हजार बजेट सुनिश्चित भएको छ । जसमध्ये सात वटा अस्पतालले बजेट कार्यान्वयनमा लगिसकेको तर धनकुटा, खोटाङ र सोलुखुम्बुले बजेट कार्यान्वयनका लागि प्रक्रिया नै अगाडि बढाउन नसकेको प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो । तीन वटा अस्पतालले २ करोड २५ लाख बजेट कार्यान्वयन गर्न नसकेको उहाँले बताउनुभयो ।

विराटनगरस्थित कोशी अस्पतालमा भेण्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन टयांक जडानका लागि ६ करो ८० लाख बजेट सुनिश्चित गरेर गत आवको जेठ २ गते पठाएको थियो । जसमध्ये ८० लाखको लागतमा अक्सिजन टयांक खरिदका लागि दुई पटक अस्पतालले ठेक्का आह्वान गरे पनि एउटा पनि आवेदन नपर्दा स्थगित गर्न बाध्य भयो । बाँकी ६ करोडबाट आईसियू, भेण्टिलेटर खरिदका लागि गरिएको ठेक्कामा ४ करोड ९६ लाख ९१ हजार ७८५ रुपैयाँमा आपुर्ति गरी जडान गर्ने सम्झौता गरिसकेको अस्पताल प्रमुख मेडिकल सुपरिडेण्टेण्ट डा. चुमनलाल दासले बतउनुभयो ।

यस्तै, झापाको मेची प्रादेशिक अस्पतालमा पनि भेण्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन टयांक खरिद तथा जडानका लागि सामाजिक विकास मन्त्रालयमार्फत १० करोड ५६ लाख ५० हजार बजेट सुनिश्चित गरेको थियो । जसमध्ये ९ करोड ५ लाख ५१ हजारमा अक्सिजन प्लाण्ट स्थापना, २ वटा भेण्टिलेटर, सिटी स्क्यान, डिजिटल एक्स–रे, डाइलसिस मेसिन ५ थान, शव गृहका लागि फ्रिज खरिद, सिसि क्यामेरा, एसी, भिडियो कन्फरेन्सका लागि आवश्यक सामग्री खरिद गरी जडान गरिसकिएको अस्पतालका लेखा अधिकृत भीम लिम्बूले बताउनुभयो ।

उहाँले ४० लाखमा फोहोर व्यवस्थापन भवनसमेत निर्माण सम्पन्न गरेर मन्त्रालयले सुनिश्चित गरेको बजेटको ८५ दशमलव ७१ प्रतिशत कार्यान्वयन गर्न सफल भएको बताउनुभयो । ठेक्का घटेर सम्झौता हुनु र सघन कक्षलगायत केही संरचना निर्माणका लागि बजेटमा तोकिएको तर उक्त संरचना अस्पतालभित्र रहेकोले शतप्रतिशत बजेट कार्यान्वयन हुन नसकेको उहाँको भनाई थियो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुनिश्चित गरेको बजेट कार्यान्वयनका लागि भदौ मसान्तसम्मको समय सीमा तोकेकोले केही अस्पतालमा ठेक्का सम्झौता भएर सामान ल्याएर जडान भइरहेको र केहीमा ठेक्का सम्झौता प्रक्रियामा रहेको बताउनुभयो ।

पछिल्लो समयमा यस प्रदेशमा संक्रमितको संख्या बढ्दै गएकोले पनि केही अस्पतालहरुले हतारहतार ठेक्का सम्झौता गरेर आईसियू, भेण्टिलेटर र अक्सिजन प्लाण्ट स्थापना गर्न लागेको उनले सुनाए । प्रदेश १ मा सक्रीय संक्रमितको संख्या ७ हजार ६३० पुगेको छ ।

Back to top button