प्रदेश १ सरकार परिवर्तन हुँदै

विराटनगर । प्रदेश १ सरकार परिवर्तनको संघारमा पुगेको छ । ढिलोचाँडो सरकार परिवर्तन निश्चित भएको हो । नेकपा एमालेको एकता जोगिदा पनि वा औपचारिक रुपमा पार्टी फुट्दा पनि दुवै अवस्थामा मुख्यमन्त्री शेरधन राईलाई सरकारको नेतृत्व छोड्नुपर्ने देखिन्छ ।

पार्टी एकता जोगिए माधवकुमार नेपाल पक्षका भीम आचार्यलाई प्रदेश सरकारको नेतृत्व दिने एमाले वृतमा अहिले चर्चा चलेको छ । तर नेपाल पक्षकै प्रदेश सांसदहरु आचार्यको विपक्षमा देखिएको छ ।

नेपाल पक्षका सांसदहरुले आचार्यलाई मुख्यमन्त्रीको रुपमा नस्विकारेको अवस्थामा वर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन गर्ने एमालेको तयारी छ ।

एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टी एकताको विषय टुंगिएपछि मात्रै सरकारको नेतृत्व परिवर्तन हुने नहुने स्पष्ट हुने बताउनुभयो । ‘पार्टी एकता जोगाउन प्रमुख सचेतक पद छोड्न तयार छु, त्यसरी नै अन्य साथीहरु पनि तदारुक्ता देखाइरहनु भएको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेशको नामकरण लगायतका समसामयिक विषयमा छलफलका लागि साउन २२ गते संसदीय दलको बैठक बस्ने तयारीमा गरिरहेका छौं ।’

एमाले औपचारिक रुपमा फुटेको अवस्थामा कांग्रेस, एमालेका माधवकुमार नेपाल पक्ष, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले वागमति प्रदेशमा मुख्यमन्त्री लिने भएकाले प्रदेश १ मा माधवकुमार नेपाल पक्षले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको राजनीतिक वृतमा चर्चा छ । नेपाल पक्षले प्रदेश १ सरकारको नेतृत्व गर्ने अवस्थामा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे मुख्यमन्त्री हुने देखिन्छ ।

तर कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सभापति देउवाले केन्द्रमा जे गरे पनि प्रदेशमा आफ्नै अनुकुल गर्ने दावी गर्नुभयो । उहाँले एमाले औपचारिक रुपमा फुटेको अवस्थामा कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा सरकार गठन हुने बताउनुभयो ।

कांग्रेसका नेता कोइरालाले माधवकुमार नेपाल पक्षका सांसदबिना प्रदेश १ मा सरकार परिवर्तन सम्भव नभएकोले उनीहरुले नै यस विषयमा निर्णय लिनुपर्ने बताउनुभयो । नेपाल पक्षका प्रदेश सांसदहरु भने अहिले मौन छन् ।

९२ सदस्यीय प्रदेश १ सभामा एमालेको ५१, कांग्रेसको २१, माओवादी केन्द्रको १५, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १÷१ जना सांसद छन् ।

Back to top button