प्रहरी भर्ना परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जना पक्राउ

विराटनगर । प्रहरीमा भर्नाका सञ्चालित परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जनालाई पक्राउ गरिएको छ । विराटनगरस्थित प्रदेश १ प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान भर्ना परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

भोजपुरको पौवादुङ्‌मा गाउँपालिका ६ का २३ वर्षीय सुर्य राई, उक्त ठाउँका १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटाको साँगुरीगढी गाउँपालिका ८ का १९ वर्षीय सरोज राई, सहिदभूमि गाउँपालिका ३ का २१ वर्षीइ खपाङ राई र साँगुरीगढी ८ का २७ वर्षीय राजकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताउनुभयो ।

सुर्य राईले प्रहरी जवानमा भर्ना गराइदिने भन्दै संगम र सागरबाट १ लाख १८ हजारको दरले र सरोजबाट २ लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको श्रेष्ठले बताउनुभयो ।

अबैध रुपमा रकम लिएएर सुर्य, खपाङ र राजकुमारले नक्कली परीक्षार्थी भएर परीक्षामा सहभागी भएको अवस्थामा पक्राउ परेको उहाँले बताउनुभयो । पक्राउ परेकाहरुलाई शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ को म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

Back to top button