कुटपिटको भिडियो भाइरल भएपछि वडाअध्यक्ष नेपाली प्रहरी नियन्त्रणमा

धनगढी । कार्यालय परिसरमै एक युवकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नातामा भतिजा पर्ने एक युवकलाई सार्वजनिक स्थानमा  कुटपिट गरेको भन्दै वडाध्यक्ष नेपालीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ ।

गत साउन १५ गते मदिरा सेवन गरेर वडा कार्यालयमा आएका सर्पे दमाइले होहल्ला गरेका थिए । सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको समयमा होहल्ला गरेका कारण वडाध्यक्ष नेपालीले उनलाई नियन्त्रणमा लिएका थिए ।

उनले सर्पेलाई नियन्त्रणमा लिदा कुटपिट गरेर डोरिले बाधेँका थिए । डोरीले बाधेर कुटपिट गर्दै नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । वडाध्यक्ष नेपालीले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

प्रहरी निरीक्षक षडानन्द अधिकारीले भिडियो बाहिरिएसँगै स्थलगत निरीक्षण गरी घटनाबारे अनुसनधान गरेको बताउनुभयो । उहाले सर्पे नेपालीले मापसे गरेको, होहल्ला गरेको र गालीगलौज पनि गरेको तर अध्यक्ष नेपालीले उनलाई प्रहरीको जिम्मा लगाउनुको साटो आफैले हातपात गरेको, डोरीले बाँधेको देखिएकोले वडा अध्यक्ष नेपालीले  कानुन हातमा लिने प्रयास गरेको देखिएकोले सार्वजनिक मुद्धा लगाउने तयारी भएको बताउनुभयो ।

प्रहरी निरीक्षक षडानन्द अधिकारीले अहिलेसम्म सर्पेको परिवारले जाहेरी नदिएको बताउनुभयो ।प्रहरी निरीक्षक अधिकारीले परिवारले जाहेरी दिन नमानेपनि कानूनी प्रक्रिया अगाडी बढाउने बताउनुभयो ।

पीडित परिवार आफन्त भएको र मदिरा सेवन गरेर सामाजिक सुरक्षा भक्ता लिन आएका बाबुआमालाई गाली गरेपछि उनिहरुकै आग्रहमा वडाध्यक्ष नेपालीले सर्पेलाई नियन्त्रणमा लिएको परिवारको भनााई छ ।

Back to top button