प्रदेश १ मा १ लाख ८० हजारले लगाए पूर्ण खोप

विराटनगर । प्रदेश १ मा हालसम्ममा १ लाख ८० हजार ९७ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयलका अधिकृत उदय श्रेष्ठले जोनसन एण्ड जोनसन खोप लगाउन क्रम जारी रहेको र भेरोसेलको दोस्रो डोज खोप आउने क्रममा रहेको बताउनुभएको हो ।

‘कोभिशिल्ड दुबै डोज ५२ हजार ८ सय ५५, पहिलो डोज ३ लाख ६२ हजार १ सय १ जनाले लगाएका छन्,’ उहाँले भन्नुभयो, ‘भेरोसेल दुबै डोज ६६ हजार ३ सय ३९ र पहिलो डोज ३ लाख २८ हजार ३ सय २३ जनाले लगाएका छन् भने जोनसन एण्ड जोनसको ६० हजार ९ सय ३ जनाले लगाएका हुन् ।’

प्रदेश १ मा हालसम्ममा कोभिशिल्ड ४ लाख ५९ हजार र भेरोसेल ५ लाख १८ हजार १२० डोज खोप आएको प्रदेश आपुर्ति केन्द्रका चन्द्रकान्त ठाकुरले बताउनुभयो । उहाँले जोनसन एण्ड जोनसन कम्पनीको एक मात्रा खोप २ लाख ४० हजार आएको बताउनुभयो ।

२०६८ को जनगणनानुसार यस प्रदेशको जनसंख्या ४५ लाख छन् । प्रदेशमा अहिलेसम्मे कति खोप आयो, कतिले दुई मात्रा र कतिले एक मात्रा लगाएको र बाँकी जनताले कहिलेसम्ममा खोप लगाउन पाउने भन्ने बारे आम सर्वसाधारणको चासो बढेको छ ।

सरकारले स्थानीय तहसम्म लक्षित वर्ग तोकेर खोप पठाए पनि लक्षित वर्गले खोप लगाउन पाएका छैनन् । जान्ने बुझ्नेले कोरोनाविरुद्धको खोप लगाए पनि निमुखा वर्गले लगाउन पाएका छैनन् । खोपमा ब्यापक अनियमितता भइरहेको जनगुनासो बढेको हो ।

विराटनगरका मेयर भीम पराजुलीले कांग्रेसको १४ औं महाधिवेशनमा आफ्ना पक्षका उम्मेदवार जिताउन नेता तथा कार्यकर्तालाई रिझाउनका लागि राती राती खोप लगाउने गरेको उजागर भएको छ । एकातिर महानगरवासी दिनभरि घण्टौं लाइनमा बसेर खोप लगाइरहेका छन् भने अर्कोतिर मेयर पराजुलीले नेता तथा कार्यकर्ताको घर घरमा पुगेर राती राती चोरेर खोप लगाइरहेको घट्नाको चर्को आलोचना भइरहेको छ ।

यस्तै, झापामा कर्मचारीले नै खोप चोरेर होटलमा लुकाएको घटना समेत सार्वजनिक भएको छ । खोप लगाउने सर्वसाधारणको लाइनमा सरकारले तोकेको लक्षित वर्ग देखिदैनन् । अहिले प्रदेशमा ५० वर्ष माथि उमेर समूहका लाई सरकारले खोप लगाइरहेको बताउँदै आए पनि खोप लगाउने लाइनमा युवा वर्गमात्रै देखिएकोले पनि अनियमितता भइरहेको उजागर हुन्छ ।

प्रदेशसभामा सांसदहरुले जान्ने बुझ्ने टाठाबाठाहरुले अगाडि आएर खोप लगाउने गरेकाले तल्लो वर्गले लगाउन नपाएको बताउनुभएको छ । प्रदेशसभामा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजिव कोइरालाले प्रदेश सरकारले उमेर समूह तोकेर कोरोनाविरुद्धको खोप लगाइरहे पनि सबै वर्गका सर्वसाधारणले खोप लगाउन नपाइरहेको बताउनुभएको छ ।

‘केन्द्रमा भारीका भारी खोप आएको सञ्चारमाध्यमबाट सुनिन्छ तर अहिले पनि वृद्धवृद्धाहरुले खोप नपाएको भन्दै गुनासो गर्दै आउने गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेशमा कति प्रकारका खोप भित्रिए, कति जनाले लगाए र बा“की रहेका कति जनाले कहिलेसम्ममा खोप लगाउन पाउँछन् ।’

शून्य समयमा बोल्दै प्रदेश सांसद ज्योती सुब्बाले जनचेतना अभावले कतिपय स्थानीय तहका गरिव विपन्न समुदायले खोप लगाउन नपाएको बताउनुभयो । ‘जनचेतना अभावमा तल्लो वर्गका जनताले खोप लगाउन पाएका छैनन भने जान्ने बुझ्ने, टाठाबाठाहरुले धमाधम खोप लगाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘तल्लो तहका निमुख्खा वर्गमा जनचेतना जगाएर सबैलाई खोप लगाउने वातावरण बनाउनु आवश्यक छ ।’

Back to top button