चारबुँदे निर्णय गर्दै माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक सम्पन्न

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरुको बैठक चार बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार समेत ठहर्‍याएको छ ।

बैठकपछि पत्रकारसँग बोल्दै स्थायी कमिटी सदस्य नेता रघुजी पन्तले आफ्नो समूह सरकारमा नजाने बताउनुभयो । बैठकले आजसम्म भएका सबैखाले सहमतिलाई आधार मानेर एकता प्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ ।

बैठकले एकता प्रक्रियामा अवरोध हुने गरी पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न समेत संस्थापन पक्षसंग आग्रह गरेको छ । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति गाली गरे पनि एमाले एकताको पक्षमा आफू रहेको बताउनुभएको थियो ।

‘ओलीले हामीलाई अल्मल्याउन खोजेको हो कि भन्ने शंका छ तर पनि त्यस्तो नहोला भन्ने मेरो विश्वास छ । एकताको प्रयत्न जारी राखौ’, नेपाललाई उद्धृत गर्दै पन्तले भन्नुभयो । बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

त्यस्तै पार्टीका विभिन्न नेतालाई लाञ्छना लगाउने र आरोपित गर्ने काम दुवै पक्षबाट हुन–नहुनेमा ध्यानाकर्षण समेत बैठकले गरेको छ । आज बोल्ने केन्द्रीय सदस्यहरुले सम्मानजनक पार्टी एकताको पक्षमा धारणा राख्नुभएको बैठकमा सहभागि केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिनुभयो ।

Back to top button