देउवा सरकार सञ्चालनका लागि तयार पारिएको कार्यविधि भोली सार्वजनिक हुने

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाको सरकार सञ्चालनका लागि सत्ता साझेदार दलले संयुक्त कार्यक्रम र कार्यविधि तयार पारेका छन् । वर्तमान सरकारले यहि कार्यविधि भित्र रहेर सञ्चालित हुनुपर्ने भनिएको छ ।

साझा कार्यक्रम र कार्यविधि तयार गर्न सत्तारुढ गठबन्धनले एउटा छुट्टै कार्यदल गठन गरेको छ । सोहि कार्यदलले सरकार सञ्चालनका लागि साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । त्यसलाई भोली सार्वजनिक गरिने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले भोली कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हिजो हस्तान्तरण गरेको छ ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमोर्चाका सांसद पौडेलको सहभागिता थियो।

Back to top button