प्रदेशमा बनिरहेको महंगो पुलको छानबिन गर्न प्रदेश सांसदको माग

विराटनगर । आर्थिक अनियमितताका कारण प्रदेश सरकारले निर्माण गरिरहेको पुल अत्यन्तै महंगो भएकोले प्रदेश सांसदले संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ ।

सत्तारुढ दल एमालेका प्रदेश सांसद बिमल कार्कीले उदयपुरको त्रियुगा नदीमा ३ सय ७ मिटर लामो र ५ मिटर चौडाई भएको पुलको ५ पटक म्याद थप्दा पनि ९ करोड ७६ लाखबाट लागत मूल्य वृद्धि भएर ११ करोड २७ लाख मात्रै पुगेको बताउनुभयो । तर प्रदेश सरकारले बनाइरहेका त्यस्तै पुलको लागत मूल्य अत्यन्तै महंगो ४० करोडसम्म रहेकोले संसदीय छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारसँग उहाँले माग गर्नुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ओमप्रकाश साहले प्रदेशभरिमा अहिले ६२ वटा पुल निर्माणको काम भइरहेको छ भने २५ वटा पुल प्रदेश सरकारले बनाइसकेको बताउनुभयो ।

प्रदेश सांसद कार्कीले चौदण्डीगढी नगरपालिका ५ सिवाईस्थित त्रियुगा नदीमा निर्माणाधिन पुल बगाएकोलाई पनि छानबिन गर्न संसदीय टोली गठन गर्न प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘चौदण्डीगढीको केन्द्र बेल्टार बजारलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न ३ सय ७ मिटर लामो र ५ मिटर चौडा पुलको ११ वटा स्ल्याबमध्ये ४ वटा बाढीले भत्काएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले प्राविधिक रुपमा छानबिन गर्ने काम सम्बन्धित कार्यालयले गरिरहेको तर त्यसको सत्यतथ्य छानबिन गरेर पत्ता लगाउन अधिकार सम्पन्न संसदीय जाँचबुझ समिति निर्माण गरेर पुल निर्माणमा भएको कमिकमजोरी पत्ता लगाउनु जरुरी छ ।’

गाईघाट–दिक्तेल सडक योजनाले निर्माण गरिरहेको उक्त पुल निर्माणका लागि १२ वर्ष अगाडि महालक्ष्मी लोकप्रिय जेभीलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले पुल निर्माणको अन्तिम चरणको काम गरिरहेको बेला असार १९ गते आएको बाढीले क्षति पु¥याएको र पुनः साउन पहिलो साता आएको बाढीले ४ वटा स्ल्याबमै क्षति भएको छ ।

Back to top button