एएफसी महिला एसियन कप—२०२२ का छनोट खेल उज्वेकिस्तानमा

काठमाडौं । नेपालमा हुने भनि तय भएको एएफसी महिला एसियन कप—२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल उज्वेकिस्तानमा हुने भएको छ । यसअघि जारी गरेको तालिका अनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने बताउनुभयो ।

उहाले एसियाली फुटबल महासंघ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको बताउनुभयो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स छन् ।

महासचिव तुलाधरले छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अभ्यासमा रहेको बताउदै एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको जानकारी दिनुभयो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको समेत उहाले बताउनुभयो ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार/चार र अर्को चार समूहमा तीन/तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् ।

प्रतियोगिता २०२२ मा भारतमा शहरमा हुँदैछ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।

 एएफसीको क्यालेण्डर अनुसार प्रतियोगिता २०२२ को डिसेम्बरमा शुरु भएर २०२३ को जनवरी सम्म चल्नेछ ।

Back to top button