कानुनविपरीत घरभाडा लिँदै प्रदेश सांसद

विराटनगर । प्रदेश १ का केही प्रदेश सांसदहरुले कानुनविपरीत आवास सुविधा लिने गरेका छन् । प्रदेशसभाभन्दा १५ किलोमिटरको परिधीमा घर भएका र घरबाटै प्रदेशसभा आउने जानेले आवास सुविधा लिन नमिल्ने कानुनी व्यवस्था छ । प्रदेश सांसदहरुलाई अहिले आवास सुविधा वापत मासिक १९ हजार रुपैयाँ दिने कानुनी व्यवस्था रहेको छ ।

जनता समाजवादी पार्टीको प्रदेश १ का संसदीय दलका नेता जयराम यादवको विराटनगरमा घर भए पनि आवास सुविधा लिँदै आउनुभएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित उहाँले प्रदेशसभा सदस्य भएदेखि गत आर्थिक वर्षसम्ममा ७ लाख २२ हजार ८९६ रुपैयाँ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विराटनगरका जमिनदार तथा ४ ठाउँ घर भएका यादवले घरभाडामा बसिरहेको प्रदेशसभा सचिवालयमा लिखित दिएकाले आवास सुबिधा दिँदै आएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

विराटनगरमा नै घर भएका कांग्रेसकी प्रदेश सांसद बिन्दीया कार्की र एमालेकी बसन्तिदेवी यादवले आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा गरी कुल १ लाख ६१ हजार ८९६ रुपैयाँको दरले आवास सुबिधा लिनुभएको छ । दुबै जनाले त्यसपछि नलिएको सचिवालयले जनाएको छ ।

यस्तै, विराटनगर मै घर भएका कांग्रेसकी प्रदेश सांसद शान्तादेवी पौडेलले आर्थिक वर्ष २०७४/०७५ मा घर भाडा बापत ८६ हजार ८९६ रुपैयाँ आवास सुबिधा लिए पनि त्यसपछि नलिएको सचिवालयले जनाएको हो ।

घरबाटै प्रदेशसभा आउने गरेका कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला, एमालेका प्रदेश सांसदत्रय सर्वध्वज साँबा, ज्ञानेश्वर राजबंशी र लिलम बस्नेतले आवास सुबिधा लिने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

दलका नेता कोइराला र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति साँबालाई प्रदेशसभा सचिवालयले गाडी सुबिधा समेत दिएको अवस्थामा आवास सुबिधा लिँदै आउनु भएको हो । कोइरालाले घरबाटै प्रदेशसभा आउने जाने गरे पनि विराटनगरस्थित चान्दनी चोक नजिक घरभाडामा लिनुभएको छ ।

माओवादी केन्द्रका प्रदेश सांसद विजय विश्वासले पनि घरबाटै प्रदेशसभा आउने जाने गरेको भए पनि विराटनगरमा कोठा भाडा लिएकोले आवास सुबिधा लिने गरेको बताउनुभयो । मोरङ क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित थारुले आर्थिक वर्ष २०७४/०७५ मा ८६ हजार ८९६, आव २०७५/७६ मा १ लाख ८० हजार र ०७६/७७ र ०७७/७८ मा राज्यमन्त्री भएको समय बाहेक १ लाख १४ हजारका दरले आवास सुबिधा लिएको सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवलायको तथ्यांक अनुसार प्रदेश सांसदहरुलाई गत आर्थिक वर्षसम्ममा आवास सुबिधा वापत ५ करोड ४७ लाख ३० हजार ३०९ रुपैयाँ बैंक खातामार्फत भुक्तानी दिएको छ ।

प्रदेश राजधानीसँग जोडिएको बुढीगंगा घर भएका कांग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेश राजधानी विराटनगरमा घर भएका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, कांग्रेसका प्रदेश सांसद चुमनारायण तवदार, एमालेका सांसद यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी, कल्पनाकुमारी सरदार र विध्यानन्द चौधरीले आवास सुबिधा लिनुभएको छैन । प्रमुख सचेतक कार्कीलाई भने घर मर्मत खर्च वापत कानुन सम्मतरुपमा ६० हजार उपलब्ध गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले विराटनगरमा भाडामा बसेको लिखित रुपमा दिएका सांसदहरुलाई आवास खर्च उपलब्ध गराइएको बताउनुभयो ।

Back to top button