असाधारण जनमतका साथ शक्तिमा फर्किने एमालेका अध्यक्ष केपी ओलीको दावी

काठमाडौं । भुतपूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू फेरी असाधारण जनमतका साथ मूलढोकाबाट शक्तिमा आउने बताउनुभएको छ ।

प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै ओलीले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री बनेको बताउनुभयो । उहाँले आफु देश र जनताको सेवाको निम्ति जन्मिएको जस्तो लागिरहेको भन्दै प्रधानमन्त्री बन्नका लागि नजन्मिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘काम गर्दै जाँदा प्रधानमन्त्री पनि भएँ । म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मुलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’

एमाले अध्यक्ष ओलीले आफूलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको नभई काम हेरेर जनताले मत दिएर बनेको बताउनुभयो । उहाँले विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्‍या, जलन आदिको समिश्रणबाट पनि प्रधानमन्त्री नभएको बताउनुभयो ।

उछिट्टिएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनादेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’

Back to top button