भारत आउजाउ गर्नेको सीमामा लर्को

डिएन पथिक
विराटनगर । सरकारले सीमा सिल यथावत राखेको भए पनि यहाँका सीमामा भारत आउजाउ गर्नेको दैनिक लर्को लाग्ने गरेको छ । यसले कोरोना संक्रमणको जोखिम बढाएको हो । सरकारले कोरोना संक्रमण बढिरहेको भन्दै कक्षा ११ र १२ को परीक्षा स्थगित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन कडाइ गरिरहेको बेला लर्को लागेर भारत आउजाउ हुँदा झन संक्रमणको जोखिम बढ्ने देखिन्छ ।

विराटनगरको रानीस्थित मूल नाका सिल गरिए पनि तस्करीको लाइन चलाउने नाकालगायत दशगजाबाट सर्वसाधारण दैनिक भारत आउने जाने गरेका छन् । विराटनगर १६ स्थित विराटनगर जुट मिलको दक्षिण गेट, दरैया र वडा १७ स्थित इस्लामपुर र मटेरुवाबाट लर्को लागेरै भारततर्फ आउने जाने भइरहेको हो ।

सर्वसाधारणको वेवास्ताले पुनः संक्रमण दर बढ्ने देखिन्छ । भारततर्फ आउजाउ गर्नेले सामान्य स्वास्थ्य सुरक्षा मापदण्डसमेत अपनाएको देखिएन । कोरोना संक्रमणको जोखिम प्रति सर्वसाधारणको वेवास्ता देखिएको हो ।

सीमामा खटिएका सशस्त्र र नेपाल प्रहरीकै अगाडिबाट खुल्मखुल्ला भारततर्फ आउने जाने क्रम दिनभरि हुने गरे पनि कुनै रोकटोक गर्दैनन् । भारतबाट सामान बोकेर आउनेहरुलाई सुरक्षाकर्मीले रोकेर सामानको मात्रै चेक जाँच गरेर नेपालतर्फ आउन दिने गरेको देखियो ।

भारत जाने आउनेमा विराटनगरलगायतका क्षेत्रका सर्वसाधारणले सीमावत्र्ती भारतीय बजार जोगबनीमा सस्तोमा दैनिक उपभोग्य सामग्री खरिद, भारतको बिभिन्न सहरमा स्वास्थ्योपचार, विद्यार्थीहरु अध्ययन र सर्वसाधारण रोजगारीका लागि आउने जाने गरेको सीमामा खटिएका सुरक्षाकर्मीको भनाई छ ।

विराटनगर १६ दरैयामा खटिएका एक सशस्त्र प्रहरी अधिकृतले जोगबनीमा रेल आएको बेला एकै पटक २ हजारको हुल नेपालतर्फ प्रवेश गर्न आउने गरेको बताउनुभयो । उहाँले त्यति ठूलो भिडलाई सामान्य चेकजाँच गर्नसमेत नभ्याउने गरेको बताउनुभयो ।

‘स्थानीयले जीवन गुजाराका लागि भारतबाट बिभिन्न दैनिक उपभोग्य सामग्री ल्याएर गुजारा चलाउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘सीमामा भारत आउजाउ गर्न कडाई गर्ने बित्तिकै स्थानीयले ढुंगामुढा गर्ने गरेकोले रोक्न समस्या छ ।’

भारतबाट मालासामान बोकेर आउनेलाई सुरक्षाकर्मीले कडाईका साथ रोकेर चेक जाँच गर्ने र दैनिक उपभोग्य सामग्री बढी परिमाणमा लिएर आउनेहरुबाट अबैध रुपमा रकमसमेत असुली गर्ने धन्दा समेत चलाइरहेको पाइयो ।

विराटनगर १६ र १७ स्थित सीमाबाट दैनिक ३÷४ लाख मानिसको भारततर्फ आउजाउ हुने गरेको स्थानीयवासी बताउँछन् । विराटनगर १६ का बिन्देश्वर कामतले दैनिक एक÷डेढ लाख मानिस दरैया, जुट मिलको दक्षिण गेटलगायत दशगजाबाट भारत आउजाउ गर्दै आएको बताउनुभयो ।

‘जोगबनीबाट दैनिक उपभोग्य सामग्री खरिद गर्न र भारतमा रोजगारी, अध्ययन, उपचारका लागि मानिस जाने आउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘भारतको बिभिन्न सहरबाट आउनेहरुले कोरोना संक्रमणको जोखिम बढाएको छ ।’

सीमामा खटिएका सुरक्षाकर्मीलाई भारत आउजाउले कोरोना संक्रमणको जोखिम बढ्ने अबैध रुपमा गर्दै आएको आमदानी घट्छ की भन्ने पिरलोले कसैलाई रोकटोक नगर्ने गरेको कामतको भनाई छ । भारतबाट दैनिक उपभोग्य सामग्री लिएर आउनेसँग र तस्करसँग रकम असुल्दैमा फुर्सद नहुने गरेको उहाँको आरोप छ ।

वडा १७ का मोहम्मद इस्लामका अनुसार इस्लामपुर र मटेरुवाबाट भारत आउजाउ गर्नेको दैनिक घुइँचो लाग्ने गरेको बताउनुभयो । उहाँले सीमामा खटिएका सुरक्षाकर्मीहरुले भारततर्फ आउजाउ गर्ने कसैलाई कुनै रोकटोक गर्दैनन् तर भारतबाट एक झोला पनि सामान लिएर आउने बित्तिकै तीन जना सुरक्षाकर्मीले रोकेर जाँच गरी पैसा असुल्न खोज्ने गरेको गुनासो पोख्नुभयो ।

विराटनगर १६ का वडा अध्यक्ष मनोज सुब्बाले भारत नजानदिन अनेकौं प्रयास गरे पनि कुनैकुनै ठाउँबाट गइनै हाल्ने गरेकोले समस्या भएको बताए । उनले सीमामा खटिएका सुरक्षाकर्मीहरुले रोक्ने प्रयास गरे पनि भारत आउने जानेको संख्या बढ्दै गएकोले संक्रमणको जोखिम उच्च भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले खुल्ला सीमाको फाइदा उठाउँदै सर्वसाधारण भारततर्फ आउने जाने भइरहेकोले मूल नाका नै व्यवस्थित रुपमा सञ्चालन गर्ने सुरक्षा समितिले निर्णय गरेको बताउनुभयो ।

‘सीमामा जतासुकैबाट पनि मान्छे भारततर्फ आउने जाने गरिहाल्छन्, जे गरे पनि रोक्न सकिदैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले मूल नाका नै सञ्चालन गरेर दुरुस्त तथ्यांक राखेर भारततर्फ आउन जाने दिने तयारी भइरहेको छ ।’

मोरङको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले सीमा व्यवस्थित गर्नेतर्फ काम भइरहेको बताउनुभयो । ‘कोरोनाको तेस्रो लहरको जोखिम रहेकोले तत्काल सीमालाई व्यवस्थित गर्छौं,’ उहाँले भन्नुभयो, ‘जिल्ला सुरक्षा समितिको निर्णयले अन्य नाकाहरु बन्द राखेर रानी नाका खुल्ला गर्न केन्द्रमा पत्राचार गरेकोले चाँडै केही निर्णय भएर आउने विश्वास छ ।’ केन्द्रले रानी नाका खुल्ला गरिसकेपछि समस्या समाधान हुने उहाँको भनाई थियो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संक्रमण बढ्दो क्रममा रहेको समस्या भएको स्विकार्नुभयो । ‘अहिले बढिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि सीमामा कडाइ गर्ने बारे सुरक्षा समितिको बैठकमा सीमाको बारेमा यसअघि भएको निर्णय कार्यान्वयन गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘तैपनि सीमामा आउने जाने भइरहेको छ भने सुरक्षा निकायका प्रमुखहरुसँग यस विषयमा छलफल गरेर अनुगमन गरेर नियन्त्रण गर्छौं ।’

Back to top button