लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलद्धारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा बुझाउनुभएको हो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । आफ्नो पक्षमा बहुमत नदेखिएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो । आफ्नो पक्षमा रहेका ३ जना एमाले सांसदहरुले साथ छाडेपछि उहाले राजीनामा रोज्नुभएको बताइएको छ ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम  दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यस्तै बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल  २०७८ वैशाख १९ गते  बिहानै राजीनामा दिएर सोहि दिन अवेर राति पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यस पटक धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । प्रदेश सभामा ४१ जना एमालेका सांसदहरुको हस्ताक्षरमा प्रदेश प्रमुख धर्मनाथ यादवले उहालाई मुख्यमनत्री नियुत्ती गर्नुभएको थियो ।

दाङका अमर डाँगी र कपिलवस्तुका दीर्घनारायण पाण्डेले एमालेसँगै सांसद पदबाट राजीनामा दिएका कारण र उपनिर्वाचनबाट निर्वाचित एमाले सांसद विमला वलीले साथ छाडेर माओवादीतिर लागेपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्नुभएको हो ।

Back to top button