प्रहरीलाई कमजोर नबन्न महानिरीक्षक थापाको निर्देशन

विराटनगर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई बिनम्र बन्न तर कमजोर नबन्न निर्देशन दिनु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अबलोकन भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख र १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई उहाँले निर्देशन दिनु भएको हो ।

प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरसः पालना गरी नागरीक मैत्री प्रहरीको अवधारणा कार्यान्वयन गर्न प्रहरी महानिरीक्षक थापाले निर्देशन दिनुभयो ।

‘हरेक क्षेत्र र तहतप्काका ब्यक्तित्वहरुसँग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘शून्य शहनशीलताको अक्षरसः पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउनुपर्छ ।’

प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरीकलाई प्रत्याभुत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन र अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा काम कारवाही अघि बढाउन थापाले निर्देशन दिनुभयो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय ईटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तरक्रिया समेत गर्नुभयो । प्रहरी कार्यालयका प्रमुखहरुले आ–आफ्नो जिल्लाको बारेमा जानकारी गराउनु भएको थियो भने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले समग्र प्रदेशको अवस्थाको बारेमा महानिरीक्षक थापालाई जानकारी गराउनु भएको थियो ।

प्रहरी महानिरीक्षक थापाले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, थाति रहेको पूराना अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन तर्फ बिशेष ध्यान दिन निर्देशन दिनुभयो ।

लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रणतर्फ विशेष चनाखो हुन र महिला तथा बालबालिका माथी हुने हरेक घटनालाई गम्भिरता पुर्वक लिन उहाँले सबैलाई निर्देशन दिनु भयो ।

‘कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरुसँग शिष्ट व्यवहार गर्नुपर्छ,’ थापाले भन्नुभयो, ‘बर्षातको समय भएकोले बाढी, पहिरो डुवान लगायतका घटना हुने भएकाले उद्धार टोली र उद्धार सामाग्रीहरुसहित तयारी अवस्थामा रहन तथा कोभिडको रोकथाम तथा नियन्त्रण तर्फ बिशेष ध्यान दिई प्रहरी परिचालन गर्नुपर्छ ।’

Back to top button