अफगानिस्तानका सेना प्रमुख अहमदजाई बर्खास्त

काठमाडौं । अफगानिस्तान सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ । अफगानिस्तानका प्रान्तीय राजधानीहरूलाई श्रृंखलाबद्ध रूपमा तालिबानले कब्जामा लिंदै गएपछि अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो ।

उहाँ गत जुन महिनामा मात्र सेना प्रमुख नियुक्त हुनुभएको थियो । राष्ट्रपति असरफ गनीले अहमदजाइलाई हटाएर हिबतुल्लाह अलिजाईलाई सेना प्रमुख नियुक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहारको एउटा जेललाई कब्जामा लिएर सयौं कैदीहरूलाई रिहा गरेको समाचार सार्वजनिक भएको छ । यद्यपी यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।

हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्ने प्रयास जारी राखेको छ । अफगानिस्तानको दक्षिणी भागमा अवस्थित कान्दहार विभिन्न स्थानमा अफगान सेना र तालिबानबीच लडाइँ हुँदै आएको छ ।

दोहोरो झडपमा परि धेरै सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । कयौं विस्थापित भएका छन् । अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेना फिर्ता भएपछि तालिबान समूहले पुनः सक्रियता बढाएको छ ।

Back to top button