मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुन: गराउन विद्यार्थी सङ्गठनको माग

काठमाडौं । चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षामा कोटा भन्दा कम विद्यार्थी उतिर्ण गरेको भन्दै पुनः परिक्षा गर्न विद्यार्थी सङ्गठनले माग गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी यस्तो निर्णय गरेका हुन ।

आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्तीर्ण गरेकोले क्षमता अनुसार नै विद्यार्थीले अबसर पाउन भनेर पुनः परीक्षाको माग गरेको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।

प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उतीर्ण हुँदा  विद्यार्थीले मुलुकभित्र अध्ययनको अवसर नपाई विदेश जान बाध्य हुनुपर्ने अबस्था आउने भएकोले क्षमता अनुसार भर्ना गराउन माग गरेको विद्यार्थी संगठनहरुले बताएका छन ।

बैठकले इञ्जिनीयरिङ क्याम्पसमा गरिएको शुल्क वृद्धि फिर्ता लिन र इञ्जिनीयरिङको शुल्क निर्धारण आयोग गठन गरी देशभरिका क्याम्पसमा एउटै शुल्क निर्धारण गर्न माग गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरी भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितामा संलग्न उपकुलपतिलाई वर्खास्त गर्न पनि माग गरिएको छ ।

यसैगरी बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धमा सञ्चालित शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरेको पाइएकाले ति संस्थामाथि अनुगमन गरी कारबाही गर्न माग गरेको छ ।

Back to top button