दासढुंगामा विशाल पार्क बनाइँदै

काठमाडौं । दासढुंगा घटना स्थलमा बनाउने भनिएको पार्क को विस्तृत परियोजना रिपोर्ट(डीपीआर) तयार भएको छ । दासढुंगा घटनाको सम्झनामा मदन–आश्रित स्मृति पार्क बनाउन लागिएको हो ।

करिब ३६ करोड लागतमा १२ विगाहा क्षेत्रफलमा पार्क निर्माण गर्ने गरीको गुरुयोजना निर्माण गरीएको छ ।

स्मृति पार्कलाई तीन भागमा बाँडिएको छ । घटनास्थल दासढुंगा नजिकैको पूर्वतर्फको पहाडी क्षेत्रमै अधिकांश पूर्वाधारहरु बन्नेछन् । पार्कमा जीवनी झल्कने, मनोरञ्जनात्मक क्षेत्र र आवाससहितको राजनीतिक अध्ययन केन्द्रहरु हुनेछन् ।

संग्रहालय, अध्ययन केन्द्र, पिकनिक स्पट, वाटर फाउण्डेसन, गार्डेन, भ्यूडेक, फुडकोर्ट, रकिङ क्लाइमविङ, सुटिङ रेन्ज, आकर्षक झर्ना लगायतका संरचनाहरु पनि बनाइने छ । पुल तरेर जानुपर्ने तनहुँतर्फको भेगको भित्तामा पूर्णकदका विशाल शालिक राखिनेछ ।

पार्क जीवनी जान्न चाहने वा घुमफिर गर्न चाहनेका लागि हुने मदन–आश्रित स्मृति प्रतिष्ठान दासढुंगा शाखा अध्यक्ष तथा प्रदेश सांसद विजय सुवेदीले बताउनुभयो ।

जिप दुर्घटनामा परी २०५० जेठ ३ गते मृत्यु भएका एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा बर्षेनी जेठ ३ गते दासढुंगामा मदन र जीवराजलाई सम्झने परम्परा छ ।

२०५५ सालतिरै घटनास्थलमा निजी क्षेत्रको लगानीमा करिब ७ लाख खर्चेर अर्धकदको शालिक राखिएको छ ।

Back to top button