सत्तापक्षका सांसदहरुको अभिव्यक्तिप्रति एमालेको आपत्ति, रेकर्ड हटाउन सभामुखको निर्देशन

काठमाडौं । सत्तापक्षका सांसदहरुको अभिव्यक्तिले संसदीय मर्यादा र पद्धति उल्लंघन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा औपचारिक रुपमा आफ्नो आपत्ति दर्ज गरेको छ ।

आज प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नियमित प्रक्रियामा जान नदिइ एमालेले आपत्ति जनाएको हो । सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने समय दिएपछि उहाँले सत्तापक्षका अभिव्यक्तिहरुप्रति आपत्ति जनाउनुभएको हो ।

हिजोको प्रतिनिधीसभा बैठकमा कांग्रेस सांसद गगन थापा र माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष ओलीले पछिल्लो पटक प्रतिनिधिसभामा बोलेका कुरालाई लिएर अमर्यादित टिप्पणी गरेको भन्दै एमाले सांसदहरुले अमर्यादित अभिव्यक्ति सैह्य नहुने चेतावनी दिएका छन ।

भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई गाली गलौज गरेर ओली अहिले पनि सरकारकै नेतृत्वमा रहेको जस्तो व्यवहार सत्तापक्षले गरेको आरोप लगाउनुभयो । उहाँले यादवले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति असंसदीय भएको र कुनै हालतमा स्वीकार्य नहुने भन्दै रेकर्डबाट हटाउन माग गर्नुभयो ।

सांसद भट्टराइले अहिलेको सरकार जनादेशले होइन, परमादेशले बदलिएको भन्दै परमादेशबाट हटाइएका केपी ओलीलाई सबैभन्दा ठूलो सत्तापक्ष जसरी गालीगलौजको केन्द्रबिन्दु बनाइएको आरोप लगाउनुभयो ।

यसैविच सभामुख अग्निप्रसाद सापकोटाले हिजोको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ ।

आज एमालेले सो अभिव्यक्ति हटाउन माग गर्दै बैठक शुरु हुनासाथ आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो ठाउँमा उठेका थिए ।

 

 

 

 

 

Back to top button