नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने बताइएको छ ।

आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्ने सक्ने सम्भावना रहेको छ । भदौ १६–१९ का लागि निर्धारित १४ औं महाधिवेशन सार्ने सम्बन्धमा छलफल भइरहेपनि केन्द्रीय सदस्यहरूमा एकमत हुन सकेको छैन ।

संस्थापन पक्षको मंसिरभित्र महाधिवेशन गर्ने जोड छ भने संस्थापनइत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

बैठकमा आउने रायलाई समेटेर नयाँ कार्यतालिका ल्याउने महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ ।

आजको बैठकमा नयाँ कार्यतालिका आउने सम्भावना रहेको भन्दै उहाँले केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राखिसकेपछि नयाँ कार्यतालिका बैठकमा पेस हुने जानकारी दिनुभएको छ ।

Back to top button