सर्वोच्चले जसपाको आधिकारीकता आफुहरुलाई दिने राजेन्द्र महतोको विश्वास

काठमाडौं । जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष) का वरिष्ठ नेता राजेन्द्र महतोले महन्थ ठाकुर अध्यक्ष रहेको पार्टी नै आधिकारिक जसपा रहेको दाबी गर्नुभएको छ ।

जसपा महन्थ ठाकुर पक्षको बागमती प्रदेशले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले केही सदस्य सङ्ख्या बढी देखाउँदैमा पार्टी नहुने बताउनुभयो । नेता महतोले भन्नुभयो,‘पार्टीका लागि कार्यकर्ता हुनुपर्छ, सङ्गठन हुनुपर्छ जुन हामीसँग छ ।’

उहाँले असली जसपा हामी हौँ भन्दै पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा चलिरहेको र अदालतले आफूहरूलाई न्याय दिने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

उपेन्द्र यादवले नेतृत्व गरेको जसपा सत्ता र भत्ताका लागि बनेको आरोप समेत लगाउनुभयो । आफूहरुको जसपा पहिचान र अधिकारका लागि लड्ने पार्टी रहेको उहाँले जिकिर गर्नुभयो ।

जनतालाई जे चाहिएको छ, त्यो प्राप्त गर्न नसकिएको उल्लेख गर्दै उहाँले नेपाल सम्पूर्ण नेपालीको हुन नसकेको बताउनुभयो । उहाँले यस्ता उपलब्धि हासिल गर्न सङ्गठनलाई बलियो बनाउन आवश्यक रहेको भन्दै उहाँले त्यसतर्फ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Back to top button