![](https://sunauloonline.com/wp-content/uploads/2021/06/pakrau-1.jpg)
काठमाडौं । प्रहरीले नक्कली कागजात बनाएर बैंकबाट ऋण लिई ठगी गर्ने एक जनालाई पोर्चुगलबाट पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका १ का ४३ वर्षीय केदार ढुंगानालाई पोचुगलमा पक्राउ गरी नेपाल ल्याएको हो ।
ढुंगाना विदेशमा रहेको सूचनाका आधारमा प्रहरीले २०७५ पुस १७ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको जानकारी पाएपछि प्रहरी प्रधान कार्यालयले एनसीबी पोर्चुगलसँग समयन्वय गरी पक्राउ गरी साउन ३० गते नेपाल ल्याएको हो ।
ढुंगानाले सवारी दर्ता प्रमाणपत्र नक्कली बनाएर तत्कालिन देवः विकास बैंकमा फर्जी कागजात पेस गरी २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण लिएर फरार भएका थिए ।
जिल्ला अदालत ललितपुरले ढुंगानासहित १२ जनालाई दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी ५ वटा मुद्दा र उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन रहेको छ ।
ढुंगानाले बिभिन्न सवारी साधनको नक्कली कागजात तयार पारेर विकास बैंकबाट उक्त रकम ऋण लिएको थियो तर समयमा ऋण चुक्ता नगरेपछि बैंकले यातायात कार्यालयमा उक्त सवारी साधन लिलामका लागि पत्राचार गरेपछि कागजात नक्कली भएको खुलासा भएको थियो । त्यसपछ उनीहरुविरुद्ध अदालतमा बै.कले मुद्दा दायर गरेको थियो ।