डा. भगवान कोइरालाको निजी क्षेत्रसँग आग्रहः बालअस्पताल निर्माणमा सहयोग गर्नुहोस

विराटनगर । झापाको दमकमा निर्माण गर्न लागिएको प्रदेशस्तरीय बाल अस्पतालका लागि यहाँका निजी क्षेत्रको समेत योगदान रहने भएको छ ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का अध्यक्ष तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईराला, नेपाली सेनाका उपरथी एवं सामाजिक अभियन्ता श्री अनन्त कार्कीलगायतले यहाँका उद्योगी व्यवसायीसँग भेट गर्दै सहयोगको प्रस्ताव गरेपछि निजि क्षेत्रले साथ दिने भएको हो ।

मोरङ ब्यापार संघमा भएको छलफलमा डा. कोईरालाले किओच गैह्रनाफामुलक र सेवामुलक संस्था रहेको जानकारी गराउँदै यसले बालबालिकाको स्वास्थ्यमा विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्य राखको जानकारी गराउनुभयो ।

उहाँले इन्स्टिच्युटले काठमाडौँमा श्रोत केन्द्रको रुपमा बहुविशिष्टीकृत सेवा सहितको अस्पताल र बाँकी सबै प्रदेशमा बाल अस्पताल निर्माण गरी संचालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।

यसका लागि प्रदेश १ अन्तगर्त झापाको दमक स्थित रेडक्रस भवनलाई भाडामा लिएर अत्याधुनिक सेवासहित दक्ष प्राविधिकहरुबाट संचालन हुने बताउनुभयो ।

डा. कोइरालाले कोरोनाको संक्रमण फैलदै गर्दा कोभिड अस्पताल निर्माण र सञ्चालनमा निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै बाल अस्पतालको निर्माणमा पनि निजी क्षेत्रको सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मून्दडा, उद्योगीहरु महेश जाजू, भीम घिमिरे, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाललगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागि नीजि क्षेत्रका प्रतिनिधिहरुले अस्पताल निर्माणका निीिम्त यथाशक्य सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा मोरङ ब्यापार संघका अध्यक्ष मुन्दडाले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सहयोग गर्न निजी क्षेत्र तयार रहेको भन्दै यसका लागि कार्ययोजनाहरु प्राप्त भए सहयोग जुटाउन सहज हुने बताउनुभयो ।

कार्यक्रममा किओचका अध्यक्ष डा. कोईरालाले कार्य योजनाहरु तयार पारी आगामी दिनमा संघलाई प्रस्तुत गर्ने जानकारी गराउनुभएको मोरङ ब्यापार संघले जनाएको छ ।

Back to top button