कंक्रिट पोल  उत्पादन शुरु

विराटनगर । नेपाल विद्युत प्राधिकरणको मोरङको टंकिसिनवारी स्थित कंक्रिट पोल प्लाण्टले परिक्षण उत्पादन शुरु गरेको छ ।

करिब साढे १४ करोडमा निर्माण गरिएको कंक्रिट पोल प्लाण्टबाट कंक्रिटका पोलहरु उत्पादन शुरु भएपछि निजी क्षेत्रबाट पोल खरिद गर्नुपर्ने बाध्यता हटेर जाने छ ।

एउटा कंक्रिटको पोलको साइज अनुसार मुल्य ९ हजार रुपैया देखि १५ हजार रुपैया सम्म पर्दछ । दैनिक ९२ वटा पोलहरु उत्पादन गर्न सक्ने सो प्लाण्टबाट नियमित पोल उत्पादन गर्न अझै २ महिना लाग्ने कंक्रिट पोल प्लाण्ट आयोजना टंकिसिनवारीका इन्जिनियर धर्म प्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयले २०७३ साल साउन देखि टंकिसिनवारीमा कंक्रिट पोल प्लाण्ट आयोजना शुरु गरेको थियो । कोरोनाका कारण मेशिन र अन्य उपकरणहरु आयात हुन नसक्दा प्लाण्ट संचालनमा ढिलाई भएको हो ।

सो कंक्रिट पोल प्लाण्टबाट २४ घण्टामा ८ मीटरको १४ वटा ९ मिटरको ४८ वटा र ११ मिटरको ३० वटा पोलहरु उत्पादन गर्न सकिन्छ । सो प्लाण्टबाट निजी उद्योगको भन्दा गुणस्तरीय पोलहरु उत्पादन हुने दावी गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले अमलेखगंज र कोत्रे प्लाण्टबाट कंक्रिट पोल उत्पादन हुदै आएको छ भने कैलालीको लम्कीमा प्लाण्ट निर्माणाधिन छ ।

Back to top button