अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न विभिन्न देशका नियोगहरुलाई पत्राचार

काठमाडौं। तालिबानले आक्रमण तीव्र बनाएपछि अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकारले नेपालस्थित विभिन्न देशका नियोगहरुसँग सहयोगका लागि छलफल शुरु गरेको छ ।

नेपालीलाई फर्काउन विभिन्न नियोगहरुलाई पत्राचार गर्दै सहयोगका लागि आग्रह गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार त्यहाँ विभिन्न दूतावास र संयुक्त राष्ट्र संघीय एजेन्सीहरुमा करिब १५ सय नेपाली कार्यरत छन्।

प्रवक्ता लम्सालले अमेरिका, बेलायत र युरोपियन युनियनका नियोगसँग छलफल गरिरहेको बताउदै उनिहरुको नागरिक फर्काउँदा हाम्रा नागरिकको पनि उद्धार गरिदिन आग्रह गरीएको बताउनुभयो । उहाँले अहिलेसम्म सबै नेपाली सुरक्षित भएको बताउनुभयो ।

सहसचिव लम्सालले अफगानिस्तानमा फसेका नेपालीका परिवारका सदस्य सम्पर्कमा आइनसकेको भएपनि भारतस्थित दूतावासले त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क बढाएर जानकारी दिइएरहेको बताउनुभयो ।

सरकारले त्यहाँ रहेका नेपालीको उद्धारबारेमा अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन। परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन गरेर उनीहरुको अवस्थाबारे जानकारी लिइरहेको जनाएको छ।

यस्तोमा धेरै नेपाली रहेको राजधानी काबुलमा त्रास बढेको छ। काबुलमा तालिबानले जुनसुकै बेला आक्रमण गर्ने अवस्था भएपछि विदेशी नागरिकलाई धमाधम उद्धार थालिएको छ।

Back to top button