कोरोना संक्रमण बढ्दा सवारी दुर्घटनामा कमी

आकाश कार्की / निशा दाहाल (प्रशिक्षार्थी पत्रकार)

विराटनगर । कोरोना भाइरसको महामारीका कारण सवारी दुर्घटनामा कमी आएको छ । महामारी नियन्त्रणका लागि भन्दै लगाइएको लामो समयको निषेधाज्ञाका कारण सवारी दुर्घटनामा कमी आएको पाइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा महामारी शुरु हुनु अघिभन्दा र महामारीको समयमा सवारी दुर्घटना कमी भएको पुष्टि हुन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ५ सय तीन वटा सवारी दुर्घटना भएको थियो । उक्त दुर्घटनाहरुमा १०९ जनाले ज्यान गुमाएका थिए भने ३ सय ८१ जना घाइते भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा भएका ४ सय ८४ सवारी दुर्घटनामा परि १०५ जनाको मृत्यु भएको थियो । ति दुर्घटनाहरुमा परि २ सय ५२ जना घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुशार आर्थिक वर्ष २०७६/०७७ अर्थात गत असार मसान्तसम्म ३ सय ५९ वटा सवारी दुर्घटना भए । जसमा ७१ जनाको मृत्यु भएको छ भने १ सय ८३ जना घाइते भएका छन् ।

कोरोनाको महामारी नियन्त्रणका लागि सरकारले देशभर २०७६ चैत ११ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । सो अवधि भन्दा अगाडि भएको दुर्घटना र त्यसपछिको दुर्घटनाको तथ्याङ्कले महामारीका कारण सवारी दुर्घटनामा कमी आएको संकेत गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काले बताउनुभयो ।

यद्यपी पछिल्लो समय ट्राफिक व्यवस्थापनका लागि अपनाइएका रणनिती, पिकेट गस्ति, छड्के चेकजाँच र अटेर गर्नेलाई गरिएको कारवाहीका कारण पनि दुर्घटना न्यूनिकरणमा सहयोग पुगेको प्रमुख खड्काको भनाई छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले गएको आर्थिक वर्ष २०७६/०७७ मा मात्र ४७ हजार ४ सय ७९ वटा सवारीलाई कारवाही गर्दा २ करोड ८२ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

Back to top button