जयसिंह धामीको परिवारलाई एक करोड क्षतिपूर्ति दिन माग

काठमाडौं । तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरीएको छ । भारतीय स्वतन्त्रता दिवसका दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय दूतावासलाई ज्ञापनपत्र पठाउँदै क्षतिपुर्ति वापत एक करोड भारतिय रुपैया दिन माग गरेको हो ।

गत साउन १५ गते तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेर बेपक्ता भएका धामीको अझै अबस्था पक्ता लाग्न सकेको छैन । नेपाल सरकारको तर्फबाट छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।

सीमावर्ती नेपाली नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक हिँड्न डुल्न नपाउनु सरासर मानव अधिकारको हनन भएको मोर्चाले जनाएको छ ।

जयसिंह धामीलाई बेपत्ता बनाउनु जघन्य अपराध भएको र अनुसन्धानका लागि नदीको पश्चिमी किनारमा ड्रोन उडाउने अनुमति नदिनु इन्डियाको अमानवीय चरित्र भएको उल्लेख गरिएको छ ।

मोर्चाले धामीको हत्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उनको परिवारलाई पारदर्शीरूपमा नेपाल सरकारमार्फत कम्तीमा १ करोड भारु उपलब्ध गराउन माग गरेको छ ।

Back to top button