अफगानिस्तानको संकटमा सार्क अध्यक्ष राष्ट्र मौन बस्नु अस्वभाविक : नेपालीलाई तत्काल उद्दार गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अफगानिस्तानमा उत्पन्न राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

दक्षिण एसियाली राष्ट्रमा संकट उत्पन्न हुँदा सार्कको अध्यक्ष राष्ट्र मौन बस्नु स्वभाविक नभएको उहाँले बताउनुभयो । आज संसद बैठकमा बोल्दै उहाँले भन्नुभयो,‘हामी सार्कको अध्यक्षता गरिरहेको राष्ट्र हौं । त्यसमाथि परमादेशबाट बनेको कम्फर्टेबल सरकार छ । तर, दुनियाँभर मादल बज्दा पनि यो सरकार ब्युँझिएन । केही थाहा पाएन ।’

यसप्रकारको गैरजिम्मेवार र उत्तरदायी सरकारको कल्पना नगरिएको भन्दै उहाँले अफगानिस्तानको घटनालाई लिएर सरकारको दृष्टिकोण संसदमा सार्वजनिक हुनुपर्ने माग गर्नुभयो ।

उहाँले अफगानिस्तानमा रहेका नेपालीको उद्दारमा समेत सरकारले वेवास्ता गरेको आरोप लगाउँदै भन्नुभयो,‘अफगानिस्तानमा रहेका नेपालीले आफ्नो देशमा सरकार छ भन्ने अनुभूति समेत गर्न पाएनन् ।’

२०७३ सालमा अफगानिस्तानमा रहेका नेपालीमाथि हमला हुँदा तत्कालीन ओली सरकारले २४ घन्टाभित्रै उद्धार तथा राहतको काम गरेको स्मरण गराउँदै बास्कोटाले सरकारलाई उद्धारका लागि प्रतिबद्धतामात्र जनाउने नभई तत्काल ‘एक्सन’ मा जान सुझाव दिनुभयो ।

‘यो समय प्रतिवद्धता जनाउने मात्र हैन तत्काल एक्सनमा जाने हो,’ उहाँले प्रश्न गर्दै भन्नुभयो,‘अहिलेको कम्फर्टेबल सरकारले त्यो गर्न सक्छ कि सक्दैन ?’

Back to top button